एचआईडिसिएलको ४ हजार ८०० वटा बोलपत्र खोल्न सुरु, साँझसम्म प्रारम्भिक कटअफ आउने

0
Shares

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को अक्सन अर्थात लिलाम बढाबढको शेयरको शिलबन्दी बोलपत्र खोल्न सुरु गरिएको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल काठमाण्डौंमा बोलपत्र खुला गर्न थालिएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको लिलामी शेयरमा साधारणतर्फ ४ हजार ८०० बढी आवेदन परेको छ भने संस्थापकतर्फ १ करोड कित्ताका लागि आवेदन गर्नुपर्ने व्यवस्थाका कारण कुनैपनि आवेदन परेको छैन ।

लिलामी शेयर बाँडफाँड सबैभन्दा बढी रकम कबुल गर्ने आवेदकलाई पहिलो प्राथमिकता राखेर गरिन्छ । उच्च मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई बाँडफाँड गर्दै क्रमशः त्यसभन्दा कम मूल्यको आवेदकलाई बाँडफाँड हुन्छ । यसरी हुने बाँडफाँडमा लिलामीमा ल्याइएको शेयर कित्ता नसकिँदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुनेछ ।

साधारणतर्फ परेको आवेदनको खुला गर्ने क्रम सकाएर शुक्रबार साँझसम्म प्रारम्भिक कटअफ तय गरिने र दशैं सकिए लगत्तै शेयर पाउन नसक्ने लगानीकर्ताको रकम फिर्ता गरिने ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बताए ।

कम्पनीले यसअघि जारी गरेको एक बराबर अनुपातको हकप्रदमा अवितरित ३२ लाख २९ हजार ७२४ कित्ता साधारण शेयर र ३ करोड ३० लाख कित्ता संस्थापक गरी ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर असोज ७ गतेदेखि असोज १४ गतेसम्म लिलाममा ल्याएको थियो ।

शेयर खरिदका लागि इच्छुक व्यक्ति, संस्था वा कम्पनीले न्यूनतम मूल्य १०० रुपैयाँ वो सोभन्दा बढी मुल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था थियो । साधारण शेयरका लागि न्यूनतम १०० कित्ता र संस्थापक समूहको शेयरका लागि कम्पनीको नियमावलीको नियम १० मा रहेको व्यवस्था अनुसार न्यूनतम १ करोड कित्ता शेयर खरीदका लागि आवेदन दिनुपर्ने व्यवस्था थियो ।

एचआईडिसीएलले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म चुक्ता पूँजी ११ अर्बको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। जसमा साउन ५ गतेदेखि भदौ ८ गतेसम्म आवेदन दिन सकिने थियो । कम्पनीले अवितरित शेयर लिलाम बढाबढमा बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार  ०९ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।