राष्ट्रिय मासु व्यवसायी संघले तोक्यो विभिन्न प्रकारका मासुको अधिकतम खुद्रा बिक्री मूल्य

0
Shares

राष्ट्रिय मासु व्यवसायी संघले उपत्यका सहित देशभरका लागि दशैंमा बढी खपत हुने मासुुको मूल्य सार्वजनिक गरेको छ ।  सरकार र व्यवसायीहरुबीचको आपसी सहमतिमा एक वर्षका लागि विभिन्न प्रकारका मासुको अधिकतम खुद्रा बिक्री मूल्य निर्धारण गरिएको हो ।

वाणिज्य विभागसँगको समझदारीमा खसी, कुखुरा, राँगा र बंगुरको मासुको मूल्य गत वर्षकैलाई याथवत राख्ने सहमति भएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ ।

राष्ट्रिय मासु व्यवसायी संघले काठमाडौं उपत्यकामा एक वर्षका लागि तयारी मासुको बिक्री मूल्य निर्धारण गरिएको हो । दशैंमा मासुको मूल्य स्थिर रहने गरी मूल्य निर्धारण भएको हो । सो मूल्य अबको एक वर्षका लागि मान्य हुने संघका अध्यक्ष रमेश खड्गीले बताए ।

संघका अध्यक्ष रमेश खड्गीका अनुसार तोकिएको नयाँ मूल्य अनुसार खसीको मासुको तीन थरी मूल्य निर्धारण गरिएको छ । जसमा आन्द्रा भुँडी राखिएको मासुको मूल्य प्रतिकेजी १ हजार, बोसो नमिसिएको तर बिक्रेताले छानेर दिने मासु प्रतिकेजी १ हजार २०० र ग्राहकले आफ्नो रोजाइअनुसार छानीछानी खरिद गर्ने मासुको मूल्य १ हजार ३०० रुपैयाँ मूल्य तोकिएको हो ।

यस्तै संघले उपभोक्ताले छानेर खरिद गर्न सक्ने राँगा तथा बङ्गुरको मासु प्रतिकेजी ५०० र ब्रोइलर कुखुराको मासुको मूल्य ३०० रुपैयाँ किलो कायम गरिएको छ । कुखुराको तयारी मासुको मूल्यमा किलोमा ५ देखि १० रुपैयाँ भने तलमाथि हुनसक्ने संघले जनाएको छ ।

माछाको मूल्य भने उच्च उतार चढाब हुने भएकाले यकिनसंग तोक्न नसकिएको संघले जनाएको छ । बजारमा अत्यधिक मात्रामा रुचाईने रहु माछाको मूल्य किलोमा ३५० देखि ४०० रुपैयाँ तोकेको छ ।

उपत्यका छाडेर दशैंमा मनाउन धेरैमा मानिसहरुले उपत्यका छोडेर पहाड घरमा जाने भएकाले यो वर्ष पनि उपत्यकामा सामान्य अवस्थाकै हाराहारीमा हुने अनुमान संघले गरेको छ । उपत्यकामा दैनिक ३ देखि तीन लाख ५० हजार किलो कुखुराको मासु, ५ हजार किलो माछा, ८०० सयको संख्यामा राँगा। भैंसी, ५०० वटा बंगुर तथा १ हजार २०० वटा खसी काटिने गरेका छ । यो दशैंमा पनि मासुको दैनिक खपत यहि अनुसार रहने अनुमान व्यवसायीहरुको छ ।

बिहीबारदेखि स्वास्थ्य परीक्षण थालियो

उपत्यकामा दशैंका लागि खसीबोका भित्रन थालेसँगै काठमाडौँ महानगरपालिका, पशु सेवा विभाग र बागमती प्रदेशको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्यमा बिहीबारदेखि परीक्षण एवं अनुगमन थालेका छन् ।

काठमाडौँ महानगरका चौपाया बजारमा आइसकेका खसीबोका, च्याङ्ग्राको परीक्षण सुुरु भएको हो । विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगर वडा न. १४ का अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङमा हरियो रङ लगाएर परीक्षणको थालनी गरेका थिए ।

पशु सेवा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठले दशैंमा अन्य बेलाभन्दा धेरै मासु खपत हुने भएकाले समूह बनाएर बिहीबारदेखि चौपाया बजारमा आएका पशुुको परीक्षण सुुरु गरिएको बताइन् ।

स्वस्थ पशुुको सिङमा हरियो रङ र बिरामी वा मासुु खान अयोग्य भेटिएको पशुुको सिङमा रातो रङ लाइनेछ । आवश्यकताका आधारमा यसरी बिरामी भेटिएका चौपायाको नमुना संकलन गरेर परीक्षण पनि गरिनेछ ।

महानगरभित्रका दशैं लक्षित चौपाया बजार कलङ्की, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु बाइपास क्षेत्र हुन् । यी बजारमा बिहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोलीले बजारमै रहेर नियमित अनुुगमन गर्ने बताइएको छ ।

काठमाडौं महानगरसँगै ललितपुरको लगनखेल, भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरिे (थानकोट) को चौपाया बजारमा परीक्षण भइरहेको काठमाण्डौं महानगरका पशु विकास अधिकृत डम्बरबहादुर बलले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०७८, शुक्रबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।