विश्वब्यापी महामारीका कारण बैंक तथा वित्तीय संस्थाहरुको व्यवसाय प्रभावित भएपनि गत आर्थिक वर्षमा लघुवित संस्थाहरुको कर्जा प्रवाहमा उल्लेख वृद्धि भएको छ ।
गत आवमा लघुवित संस्थाहरुको कर्जा प्रवाह ३९ प्रतिशतले बढेको छ बैंक तथा वित्तीय संस्थाहरुबाट लघुवित्तहरुले कर्जा प्रवाहका लागि लिने रकम करिब ४६ प्रतिशतले बढेको हो ।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको नीतिगत लचकताका कारण २०७६ माघदेखि देशमा देखिएको कोरोना महामारी तथा २०७७ चैत्र देखिको दोस्रो लहर माझपनि लघुवित वित्तीय संस्थाहरुको प्रगति सन्तोषप्रद देखिएको हो ।
तथ्याङ्क अवलोकन गर्दा लघुवित्त वित्तीय संस्थाहरुको गत आव २०७७/७८ सम्ममा लगानीमा रहेको कर्जा ३ खर्ब ६५ अर्ब ५५ करोड ४० लाख रहेको छ । अघिल्लो आवमा २ खर्ब ६२ अर्ब ७३ करोड २० लाख रुपैयाँ रहेकोमा ३९.१४ प्रतिशत अर्थात १ खर्ब २ अर्ब ८२ करोड २० लाख रुपैयाँले बढेको हो ।
यसैगरी गत आवमा लघुवित्तीय संस्थाहरुले २ खर्ब ७ अर्ब ३४ करोड ९० लाख रुपैयाँ सापटी लिएका छन् । अघिल्लो आवमा १ खर्ब ६ अर्ब १५ करोड रहेकोमा ४५.९२ प्रतिशत अर्थात ६५ अर्ब २५ करोड ४० लाख रुपैयाँले बढेको हो । समीक्षा अवधिमा लघुवित्तहरुको निक्षेप संकलन रकम २४ अर्ब २७ करोड ५० लाख रुपैयाँले बढेर १ खर्ब ३० अर्ब ४२ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १ खर्ब ६ अर्ब १५ करोड रहेकोमा २२.८७ प्रतिशतले बढेको हो ।
यस अवधिमा संख्या उल्लेख्य रुपमा घटेको भएपनि सबै वित्तीय सूचकाङ्कहरुमा भने वृद्धि भएको देखिएको छ । अघिल्लो वर्षको दाँजोमा लघुवित्तको संख्या ८५ बाट १५ ले घटेर ७० वटामा झरेको छ । कूल सदस्य संख्या र कूलकर्मचारी संख्या १० प्रतिशतको हाराहारीमा बढेको छ । २०७८ आषाढ मसान्त सम्ममा कुल शाखा संख्या ४ हजार ६८५ मार्फत २० हजार ८७२ जना कर्मचारीहरु परिचालन गरी लगभग ५१ लाख ९१ हजार ३६३ सदस्यहरुलाई समु्हमा आवद्ध गरी आय आर्जनका विविध क्रियाकलापहरुमा सक्रीय तुल्याउन लघुवित्त वित्तीय संस्थाहरु सफल भएका छन् ।

अघिल्लो आवमा कुल शाखा संख्या ४ हजार ५७ मार्फत १९ हजार १७ जना कर्मचारीहरु परिचालन गरी ४६ लाख ८६ हजार ६५९ सदस्यहरुलाई लघुवित्तीय सेवा दिएको थियो । यस आधारमा वित्तीय पहुँच अभिवृद्धिमा लघुवित्त क्षेत्रले उल्लेखनीय भूमिका निर्वाह गरीरहेको छ । अघिल्लो आवमा २७ लाख ८३ हजार २२२ जना ऋणीलाई कर्जा उपलब्ध गराएकोमा २०७८ असार मसान्तसम्ममा २९ लाख ९२ हजार ६८ जनाले कर्जा पाएका छन् । पछिल्लो एक वर्षमा मात्रै लघुवित्तबाट कर्जा लिने ऋणी २ लाख ८ हजार ८४६ जनाले बढेका हुन् ।
समीक्षा अवधिमा लघुवित्तीय संस्थाहरुको कुल पूँजी काषको आकार १६.९६ प्रतिशते वृद्धि भई ३९ अर्ब ९ करोड २० लाख पुगेको छ । अघिल्लो आवमा ३३ अर्ब ४२ करोड ४० लाख रहेकोमा ५ अर्ब ६६ करोड ८० लाख रुपैयाँले बढेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया