सीआरआर र एसएलआर कायम नगर्ने तीन बैंक कारबाहीमा

0
Shares

नेपाल राष्ट्र बैंकले अनिवार्य नगद सञ्चिति (सीआरआर) र वैधानीक तरलता अनुपात (एसएलआर) कायम नगर्ने तीन बैंकलाई कारबाही गरेको छ ।

केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नीतिगत दर कायम नगर्ने बैंकहरुलाई आर्थिक जरिवाना नै गरेको हो ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा हिमालयन बैंक, नेपाल बंगलादेश बैंक र प्रभू बैंकले सीआरआर र एसएलआर कायम नगरेपछि आर्थिक जरिवाना गरेको हो । सो अवधिमा हिमालयन बैंक २ पटक कारबाहीमा परेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले कुल निक्षेप दायित्वको ३ प्रतिशत अनिवार्य मौज्दात (सीआरआर) वापत राख्नुपर्छ । यस व्यवस्था बमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रुपमा यस बैंकमा राख्नुपर्नेछ ।

त्यसैगरी वाणिज्य बैंकहरुले वैधानिक तरलता अनुपात स्वरुप कुल स्वदेशी निक्षेपको १० प्रतिशत कायम गर्नुपर्नेछ । वैधानिक तरलता अनुपात गणना गर्दा ठीक अघिल्लो महिनाको अन्त्यमा रहेको स्वदेशी निक्षेप दायित्वलाई आधार मानिनेछ । यस्तो अनुपात गणना गरी प्रत्येक महिनाभरको वैधानिक तरलता अनुपात रकमको विवरण पेश गर्नुपर्नेछ ।  गत आवको तेस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले सीआरआर तथा एसएलआर अनुपात कायम नगर्दा ३० हजार ३२४ रुपैयाँ जरिवाना तिरेको छ ।

त्यसैगरी दुई पटकसम्म सीआरआर र एसएलआर कायम नगरेपछि हिमालयन बैंकले ३० हजार २१ रुपैयाँ जरिवाना तिरेको छ । गत आवको चौथो त्रैमासमा प्रभू बैंकले पनि सीआरआर र एसएलआर कायम नगरे वापत ३५ हजार ६ सय ९५ रुपैयाँ जरिवाना तिरेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७८, सोमबार  १८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।