कोरोना माहामारकिा कारण लामो समय देखि बन्द चालक अनुमति पत्र (ड्राइभिङ्ग लाइसेन्स) को लागि आवेदन खुला भएकाे छ ।
यातायात व्यवस्था विभागले कार्तिक ९ गते मंगलबार देखि अनलाइन फारम खुला गरेको हाे ।
कोरोना संक्रमणकाे दोस्रो लहरलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि अनलाइन आवेदन बन्द गरिएको थियो ।
लाइसेन्सको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागले जनाएको छ । तत्काल भरेको अनलाइन फारमको पालो फागुन अन्तिमदेखि मात्र आउने विभागका निर्देशक लोकनाथ भुसालले बताए ।
लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताए । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ ।
नयाँ आवेदन दिनेहरुले विभागले ल्याएको नयाँ मापदण्ड तथा अंकभार प्रणालीअनुसार परीक्षा दिन पाउनेछन् ।
नयाँ मापदण्ड अनुसार पहिलेभन्दा लिखित परीक्षाका लागि पास हुने अंक बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकाले परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।
विभागका अनुसार प्रयोगात्मक परीक्षामा पास हुनका लागि ७० ल्याएपुग्छ पहिले सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्ने थियो । लिखित परीक्षामा अहिले ६० प्रतिशत उत्तीर्ण अङ्क ल्याउनुपर्ने हुन्छ पहिले भने ५० अंक थियो । ‘ सीमित प्रश्नबाटै लिखित परीक्षामा प्रश्न सोधिने भएकाले उत्तीर्ण अङ्क पहिलेभन्दा १० वृद्दि गरी अहिले ६० बनाइएको छ ।
प्रवक्ता डा भुषालका अनुसार प्रयोगात्मक परीक्षामा आठ वटा आधार निर्धारण गरिएको छ । कुनैमा गल्ती गर्नै नहुने र कुनैकुनैमा सानो गल्ती भइहालेमा पनि पास नै व्यवस्था छ ।
आवेदन खुला भएपनि फारम भर्नेको सङ्ख्या अधिक भएकोले सिस्टममा लोडका कारण अधिकांश सेवाग्राही फारम भर्नबाट रोकिएका छन् । विभागका अनुसार नयाँ आवेदन खुला भएसँग यसअघि कायम रहेको निश्चित कोटा सिस्टम पनि हटेको छ ।
यसरी भर्न सकिन्छ अनलाइन फारम
अनलाइन फारमका लागि सर्वप्रथम यातायात व्यवस्था विभागको वेबसाइटमा खोल्नु पर्दछ । पेज खुलेपछि दाइनेपट्टि अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली लेखिएको लिंकमा क्लिक गर्ने ।
त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसनमा क्लिक गर्ने ।
नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स, लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल प्रोसिड लेखिएको बटनमा क्लिक गर्ने । व्यक्तिगत विवरण भरेर आफूलाई पायकपर्ने परीक्षा केन्द्र छानेर सबमिट गर्ने ।
त्यसपछि ’एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ । त्यहाँ ओकेमा क्लिक गर्ने । अन्तमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिएको हुन्छ ।
यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।
उक्त तोकिएको समयमा तपाईं बायोमेट्रिकका लागि आवेदन फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ ।
बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिने लगायतका काम हुन्छ । सोही दिन तपाईंको लिखित परीक्षा दिने समय समेत तपाईंले कार्यालयबाट जानकारी प्राप्त गर्नु हुनेछ । लिखित परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया