अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् ।
खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ । बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखु खेती गरेका थिए । “बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋणको सावाँ ब्याज मिनाहा गरिनुपर्छ”, किसान महासङ्घका सचिवालय सदस्य खेम सुवेदीले भने, “सावाँ ऋण ७५ प्रतिशत मिनाहा र ब्याज पूरै मिनाहा हुनुपर्छ ।”
बाढीका कारण क्षति व्यहोरेका किसानलाई बाली लगाउन एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।
किसानको मनोबल उच्च राख्नका लागि फलफूल, उखु, तेलहन र तरकारी बालीको क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउनुपर्ने सुवेदी बताउँछन् । हिउँदे बाली लगाउन मल, खाद, बीउबिजन र आवश्यक सामग्रीको विशेष प्याकेज ल्याई पूरै अनुदानमा उपलब्ध गराएमात्रै किसानलाई राहत पुग्ने उनको भनाइ छ ।
बाली नोक्सानी हुँदा खाद्यान्न सङ्कट निम्तिने किसान बताउँछन् । क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्ति तथा हिउँदे बालीका लागि किसानलाई आवश्यक सामग्री निःशुल्क तथा अनुदानमा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।
धानको समर्थन मूल्य तत्काल तोक्नुपर्ने नेपाल किसान सङ्घ कञ्चनपुरका सभापति भैरवबहादुर ऐरले बताए । बाढीपीडित किसानलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडादेखि दैनिक उपभोग्य वस्तु खरिदका लागि प्याकेजका रूपमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने उनको माग छ ।
बाढीबाट दोधारा चाँदनी, भीमदत्त, शुक्लाफाँटा, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका किसान बढी प्रभावित भएका छन् ।
कुखुरा र केराबाट मनग्ये आम्दानी
धेरै मानिसको रहर काठमाडौँमा घर बनाउने, त्यहीँ बस्ने र रमाउने हुन्छ । यही रहर पूरा गर्नका लागि कैयौँ व्यक्ति विदेश जान्छन् । गाउँको जायजेथा बेचेरै भए पनि दुई–तीन आनाको टुक्रे जग्गा किनेर काठमाडौँमा घर बनाउँछन् तर म्याग्दीका एक व्यक्ति कोरिया र काठमाडौं छोडेर गाउँमा स्थानीय जातका कुखुरापालन र १४ रोपनी क्षेत्रफलको धान फल्ने खेतमा केराखेती गरेर गाउँमा नै रमाएर बसेका छन् ।
काठमाडौंको गोङ्गबुमा रहेको आफ्नो पाँचतले घर अरूलाई भाडामा दिएर गाउँ फर्किनुभएको बेनी नगरपालिका–२ बगरफाँटका दुर्गाबहादुर थापाको दैनिकी कुखुरा र केराखेतीको स्याहारसुसारमा बित्ने गर्छ ।
करिब २० वर्ष कोरिया बसेर फर्किएका थापा काठमाडौँमा घर बनाएर एक दशकसम्म होटेल व्यवसायमा पनि लागे । आफ्नै घरमा सञ्चालन गरेको सपना गेष्ट हाउस अहिले अर्कैलाई भाडामा दिएको उनले बताए ।
बिहान उठेदेखि राति नसुतुन्जेलसम्म उनी कुखुराको खोर र केराबारीमा नै व्यस्त रहन्छन् । काठमाडौंको बसाइलाई बिट मारेर गाउँ फर्किएका ५४ वर्षीय थापाले गाउँमा रहरलाग्दो गरी कुखुरापालन र केराखेती गरेका छन् ।
आठ लाखको लगानीमा उनले स्थानीय जातका कुखुरापालन गरेका छन् । “खोर बनाउन र कुखुराका चल्ला खरिद गर्न आठ लाख लगानी भइसकेको छ,” थापाले भने, “काठमाडौंको एकाङ्की जीवनभन्दा यही आनन्द छ । आफ्नै माटोमा रमाउनुको मज्जै बेग्लै हुँदो रहेछ । मनमा शान्ति छ, शरीरमा स्फुर्ती छ, यहाँभन्दा बढी के चाहियो र ?”
दुई वर्षअघि कोभिड–१९ को सङ्क्रमण सुरु हुने बित्तिकै श्रीमती, छोरा र बुहारीसहित गाउँ फर्किएका थापाले कोरोना सङ्क्रमणको पहिलो लहर सुरु हुने बित्तिकै आठ रोपनी जग्गामा करिब एक हजार केराका बिरुवा लगाएर कृषि कर्मको शुभारम्भ गरेका थिए ।
“यो खेतमा पहिला धान फल्थ्यो, धान खेती गर्न लागत बढी लाग्ने, उत्पादन कम हुने, झन्झटिलो हुने र कृषि मजदुरको पनि अभाव हुने भएकाले मैले धान फल्ने खेतमा केराखेती गरेको हुँ,” घर पछाडिको केरा बारीलाई देखाउँदै थापाले भने, “दुई वर्ष भयो, अब आउँदो वर्षदेखि केरा बिक्री गरेर वार्षिक चार लाखभन्दा बढी कमाई गर्ने लक्ष्य लिएको छु ।” थापालाई उनकी श्रीमती र छोराले पनि सघाउने गरेका छन् ।
त्यसैगरी थापाले यस क्षेत्रमा नै पहिलोपटक व्यावसायिक रुपमा स्थानीय जातका कुखुरापालन गरेका छन् । उनको खोरमा अहिले ६०० भन्दा बढी स्थानीय जातका कुखुरा बिक्री गर्नका लागि योग्य भएका छन् । प्रतिकुखुरा करिब तीन किलोग्राम बराबरका छन् । प्रतिगोडा दुई हजारका दरले बिक्री गर्न सुरु गर्नुभएको छ ।
दसैँमा विशेष छुटका साथ कुखुरा बिक्री गरेको थापाले बताए । “मैले रहरले गरेको व्यवसाय हो, एकै पटक धेरै नाफा कमाउने उद्देश्यले मैले व्यवसाय गरेको होइन, ग्राहाकलाई खुसी बनाएर पठाउने र सन्तुष्टि दिलाउने मेरो प्रयास हुनेछ,” उनले भने ।
घर वरिपरि रहेको १४ रोपनी जग्गामध्ये आठ रोपनीमा केराखेती र बाँकी ६ रोपनीमा फलफूल, तरकारी खेती गर्नाका साथै कुखुराको खोर बनाएका छन् । सानाठूला गरी तीनवटा खोरमा उहाँले स्थानीय जातका कुखुरा पालेका छन् ।
एउटा खोरमा कालिज प्रजातिको ‘कक्कड’ नामक कालो कुखुरा पनि बिक्रीयोग्य भएका छन् ।“जीवनमा धेरै दुःख गरियो, धेरै थोरै कमाइयो पनि,” उहाँले भन्नुभयो, “तर, कहीँ पनि मन रमाउन सकेन, यसैले आफ्नै गाउँ फर्कियौँ ।”
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया