
यो वर्ष तिहारमा मालाको मूल्यले आकाश छोएको छ । मूल्य नियन्त्रण कायम गर्ने सम्बन्धित निकायले चासो नदिँदा बजारमा मूल्य गत वर्षको तुलनामा चार गुणासम्म वृद्धि भएको हो ।
फ्लोरिकल्चर एशोसिएन नेपाल (फ्यान) ले केही दिन अघि काठमाण्डौंमा एक कार्यक्रम आयोजना गरी सयपत्री फूलको मालाको मूल्य प्रतिमिटर ५५ रुपैयाँ र मखमली फूलको मालाको मूल्य ३५ रुपैयाँ निर्धारण गरिएको जानकारी दिएको थियो । तर मौकामा चौका मार्न हिसाबले बजारमा माला व्यापारीहरुको मनपरी मूल्य चल्न थालेको छ । उपत्यकाका विभिन्न स्थानका व्यापारीहरुले एशोसिएनले तोकेको मूल्यभन्दा चार गुणासम्म बढी मूल्य राखेर माला बिक्री गरिरहेका छन् ।
भाइटिकाका लागि माला अत्यावश्यक हुनाले आम उपभोक्ता चर्को शूल्क तिरेर पनि माला किन्न बाध्य भएका छन् । तर सम्बन्धीत निकायको ध्यान न त मूल्य वृद्धितर्फ गएको छ न त बजार अनुगमनमा र कारबाहीमा नै । तिहार सुरु भएसँगै बुधबार काठमाण्डौमा असन, इन्द्रचोक, रत्नपार्क, न्यूरोड, बानेश्वर, कोटेश्वर, जडिबुटी लगायत मुख्य क्षेत्रहरुमा अहिले ठेला देखि जुक्ता चप्पल पसलहरुमा पनि सयपत्री तथा मखमली फुलका मालाहरु बिक्रीका लागि राखिएका छन् । तर मूल्य भने पोहोरको भन्दा न्यूनतम पनि दोब्बर छ भने अधिकतम चार गुणासम्म बढी असुलेर बिक्री भैरहेको छ ।

राजधानीको मुटु नयाँ बानेश्वरमा एउटा सामान्य सयपत्री फुलको मालाको न्यूनतम एक मिटरको मूल्य १०० रुपैयाँभन्दा माथिमा बिक्री भैरहेको छ । जुन फ्लोरिकल्चर एशोसिएनले तोकेको भन्दा दोब्बर हुन आउँछ । एशोसिएनले एस वर्ष सयपत्री फूलको मालाको मूल्य प्रतिमिटर ५५ रुपैयाँ र मखमली फूलको मालाको मूल्य ३५ रुपैयाँ तोकेको छ ।
नयाँ बानेश्वको पुरानो आकाशे पुल छेउमा ठेलामा सयपत्री फूलको मालाको झुप्पा बनाएर बेचिरहेकी जिवाक्षी महतको मालाको मूल्य १ हजार ६०० रुपैयाँ छ । एक झुप्पामा करिब २ मिटरको ३ वटा माला छ । फ्लोरिकल्चर एशोसिएनले तोकेको मूल्य भन्दा उनले बिक्रीमा राखेकी एउटा मालाको मूल्य चार गुणा बढी हो ।
नोटबजारको मूल्यवृद्धिको प्रश्नमा उनले आफ्नो खरीद मूल्य नै महङ्गो भएपछि महङ्गो मूल्यमा बिक्री गर्नुपरेको बाध्यता सुनाइन् । उनले भनिन्, “राति दुई बजे कालिमाटी गएर ल्याएको हो मैले पनि यो माला । एउटा झुप्पालाई कालिमाटी बजारमा नै १ हजार १०० रुपैयाँ तिरेको छु ।”
आजबाट उपत्यकाका चोक-चोक र गल्ली-गल्लीमा सयपत्री र मखमली फूलको माला बिक्रीका लागि राखिएका छन् । पहेँलपुर हुनेगरी चम्किएको सयपत्री फुलको मालाको मूल्यले भने आम उपभोक्क्तालाई भने निल डाम लगाइदिएको छ ।

असन-इन्द्रचोकमा सयपत्री तथा मखमली फुलको माला बेचिरहेका निर्मल बुढाथोकी कहाँ पनि आधा मिटरको मखमली फूलको माला ८० रुपैयाँ तथा एक मिटर लामो मालाको भाउ ११० रुपैयाँ छ । गत वर्षको तुलनामा यस वर्ष बेमौसमी वर्षा र अन्य विविध कारणले सयपत्री फूलको आन्तरिक उत्पादनमा कमी आएसँगै मूल्य आकासिएको हो । मखमली फूलमा देश आत्मानिर्भर रहेको भएपनि उपभोक्ताले भने मखमली फूललाई नै दोब्बर मूल्य तिर्न बाध्य छन् ।
यस्तै कोटेश्वर चोकमा माला बेच्न बसेकी अम्बिका तामाङले फनि करिब १ मिटर लामो मखमली फुलको माला प्रतिवटा ८० रुपैयाँ र सयपत्री फुलको माला ४०० रुपैयाँमा बिक्री गरिरहेकी छिन् । जुन फ्यानले तोकेकोको मूल्य भन्दा ७ गुणाले बढी हो । चावहिल चोकैमा बसेर मखमली तथा सयपत्री फूलको माला बेचिरहेकी नेहा पौडेल कहाँ पनि अन्य स्थानहरूको तुलनामा सस्तो छैन । उनीकहाँ एक मिटर सयपत्री फूलको माला प्रतिगोटा २५० रुपैयाँ र मखमली प्रतिगोटा ७० रुपैयाँ भाउ छ ।

बजारमा मालाको मूल्यमा खुलेआम ठगी भइरहेको छ तर अनुगमन भने देखिएको छैन । उपभोक्ताको हक हितको लागि भनेर खडा भएको सरकारी संस्था अर्थात वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आफ्नो जिम्मेवारी पूरा गर्न सकेको छैन । चर्चाका लागि अनुगमनमा उत्रने यो निकायको तिहारमा भने बजारमा उपस्थिति छैन ।
फ्लोरिकल्चर एसोसिएनका अध्यक्ष मिन बहादुर तामाङ भन्छन्, “हाम्रो वास्तविक व्यवसायी कहाँ जानु भयो भने अहिले पनि उपभोक्ता ठगिने अवस्था छैन । तर यि तिहारमा लटरम्म बाटोमा बस्ने, ठेलामा राख्ने ब्यापारीहरुसँग चैँ ठगिन सकिन्छ ।” यस वर्ष आन्तरिक उत्पादन कम हुँदा २ लाख ५० हजार माला भारतबाट आयात गर्नुपर्ने अवस्था आएको थियो । तर पत्र बुझाएर अनुरोध गर्दा पनि भन्सार खुकुलो हुँदा आयात मात्र बढेको तामाङ बताउँछन् । “यस वर्ष भारतीय माला आवश्यकता भन्दा बढी भित्रिएको पाइयो । जुन १५ दिन अघि नै कोल्ड स्टोरमा ल्याएर राखिएको थियो । मैले पनि देखेँ त्यस्तो माला डुलाउँदा डुलाउँदै कालो भइरहेको छ ।”

बारम्बार भन्सार विभाग र वाणिज्य विभागलाई घच्घच्याउँदा पनि आनाकानी गरेपछि उपभोक्ता ठगिएको अध्यक्ष तामाङ बताउँछन् । “घरमा लग्ने वित्तिकै कालो हुने माला आज अत्याधिक बिक्री भइरहेको छ । जुन भारतबाट आएको हो । मैले अर्थमन्त्री र कृषि मन्त्रीलाई आवश्यक भन्दा बढी आउने फूललाई रोक्दिनु पर्यो भनेर बुझाएको थिएँ । भन्सार विभागको डिजिलाई म आफैँ गएर भेटेको हुँ । उहाँले म सबै निकायमा परिपत्र गर्छु भन्नुभएको थियो ।” उनले भने ।
आन्तरिक उत्पादनलाई बढाबा दिन संघको तर्फबाट वाणिज्य विभागको अनुगमन विभागलाई पनि अनुगमन गर्नुपर्छ भनेर बारम्बार भन्दा यस वर्ष ढिलो भयो अर्को वर्ष फूल आउनु भन्दा अघिबाटै अनुगमनलाई तिब्रता दिन्छौं भन्ने जवाफ आएको तामाङले बताए ।
त्यसैगरी भन्सार विभागले पनि आवश्यक भन्दा बढी आयात नरोकेको उनी बताउँछन् । “भन्सार विभागबाट प्रक्रिया पुर्याएर आएको समान हामीले रोक्न मिल्दैन तर प्रकृया नपुगी आएको र आवश्यकता भन्दा बढी आएको फूललाई हामी राक्छौँ भन्नु भएको थियो । तर त्यसो भएन । ”
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया