वोमी लघुवित्तको नाफा १९५% बढ्यो, इपिएस ४७.७५ रुपैयाँ कायम

0
Shares

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ९१ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले १ करोड ६६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा १९५.२७ प्रतिशतले नाफा बढेको हो । खुद ब्याज आम्दानी र खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको नाफा उल्लेख्य बढेको हो ।

समीक्षा अवधिमा सम्भावित कर्जा नोक्सानी वापत २० लाख व्यवस्था गरेको लघुवित्तले १ करोड १६ लाख रुपैयाँ खराब कर्जा संकलन गरेको छ ।
बिहीबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको अवधिको तुलनामा लघुवित्तको चुक्ता पूँजी ४८.२६ प्रतिशत, जगेडा कोष ७८.२३ प्रतिशत, निक्षेप ११०.८८ प्रतिशत, सापटी १९६.८८ प्रतिशत, कर्जा ११२.९७ प्रतिशत, खुद ब्याज आम्दानी ११७.७१ प्रतिशत, सञ्चालन मुनाफा १५१.३७ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै वार्षिक प्रतिशेयर आम्दानी पनि २३.७७ ले बढेर ४७.७५ रुपैयाँ पुगेको छ । लघुवित्तको जगेडा कोषमा ३५ करोड ४५ लाख २९ हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १ अर्ब ९६ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ६ करोड ८५ लाख रुपैयाँ सापटी परिचालन गरी ५ अर्ब २३ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले १० करोड ८ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ६ करोड ६४ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात बढेर २.९९ प्रतिशतमा पुग्दा प्रतिशेयर नेटवर्थ १८६.०६ रुपैयाँ, कोषको लागत ६.४२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.७० गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७८, बिहिबार  ०९ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।