नेपालमा सुनको मूल्य किन बढ्दैछ ?

0
Shares

पछिल्लो केही दिन यता नेपाली बजारमा सुनचाँदीको मूल्यमा निरन्तर बढोत्तरी भैरहेको छ ।

आइतबार पनि सुनको मूल्य प्रतितोला २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९४ हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार १०० रुपैयाँ भार चाँदीको मूल्य तोलाको १ हजार २९५ रुपैयाँ कायम गरिएको छ ।

नेपालमा केही दिन यता सुनको मूल्य निरन्तर बढ्न क्रम जारी छ । महासंघको तथ्यांक हेर्ने हो भने ७ दिनको अवधिमा नै सुन तोलाको ३ हजार ६०० रुपैयाँ र चाँदी ७० रुपैयाँले बढेको छ । कार्तिक १८ गते सुन तोलाको ९१ हजार र चाँदी १ हजार २२५ रुपैयाँ रहेको थियो । 

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्नुका साथै अमेरिकी डलरको तुलनामा भारु कमजोर भएको कारणले आन्तरिक बजारमा सुनको मूल्य बढेको हो । नेपाली मुद्रासँग भारुको विनियमयदर स्थीर रहेका कारणले अमेरिकी डलरको सामु भारतीय मुद्रा कमजोर बन्दा त्यसको असर स्वतः नेपालमा पर्ने गरेको छ ।

नेपालको सुन–चाँदी व्यवसाय पूरै आयातमा निर्भर रहेको छ । यसकारण नेपालमा सुन–चाँदीको मूल्य पनि अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार निर्धारण हुन्छ ।विश्वका बैंकहरू मनिटरिङ गर्ने संस्थाले नोट निष्काशनको लागि गुठीमा राख्नुपर्ने सम्पत्तिमा २०२१ बाट सुनलाई महत्व दिने योजना बनाएको कारण पनि विश्व बजारमा सुनको भाउ बढेको सुन–चाँदी व्यवसायीहरुले जानकारी दिएका छन् ।

नेपालमा सुनको मूल्य वृद्धि हुनुमा कुनै एक मात्र कारण नभई विभिन्न कारणहरु छन् । जसमा अन्तर्राष्ट्रिय बजारमा सुनको उत्पादनमा कमी आउनु, कोरोना माहामारीले सुनमा लगानी बढ्नु, अमेरिकी डलरसँग नेपाली मुद्रा कमजोर हुनु, सुन आयातमा लाग्ने भन्सार शुल्क, र ठूला अर्थतन्त्र भएका देशहरुबीचको सम्बन्ध तथा अन्तराष्ट्रिय बैंक ब्याजदर आदी जस्ता कारणबाट सुनको मूल्यमा उतार चढाव आउने गरेको छ । यद्पी हाल नेपालमा सुनको मूल्य वृद्धि हुनुको प्रमुख कारण भने अन्तराष्ट्रिय बजारमै भएको मूल्य वृद्धि हो ।

कोरोना महामारीका कारण नेपालमा निषेधाज्ञा सुरु हुनुभन्दा एक साताअघि अर्थात २०७६ चैत ६ को हेर्दा अन्तर्राष्ट्रिय बजारको बजारको मूल्य र हालको मूल्यलाई दाँजेर हेदा प्रति औंस सुनको भाउ ३९०.२८ अमेरीकी डलरले वृद्धि भैसकेको छ ।  २०७६ चैत ६ मा अमेरीकी डलर प्रति औंस १४७४.२५ रहेको सुनको भाउ हालसम्म आइपुग्दा अमेरीकी डलर प्रति औंस १८६४.५३ पुगेको छ । पछिल्लो समय २०७६ चैत १७ गते सुनको भाउ १६८३.९५ रहेकोमा पछिल्लो ७ महिनामा मात्रै अमेरीकी डलर प्रति औंस १८०.५८ ले मूल्य बढेको छ ।

नेपाली बजारमा सुनको मूल्य २०७७ साउन २३ गते सर्वाधिक प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको रेकर्ड छ । अन्तराष्ट्रिय बजारमा कोभिड असर कम हुँदै जाँदा त्यसयता फेरि मूल्य घट्न थालेर ९० हजारभन्दा मुनी पुगेकोमा पुनः मूल्य बढ्न थालेको हो ।

“नेपालमा सुनको मूल्य बढाइएको भन्दा पनि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । जसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो” महासंघका अध्यक्ष मणिक रत्न शाक्य भन्छन्, “नेपालमा विवाहको लगन सुरु हुन लागे पनि नेपालको आन्तरिक बजारको कारणले अन्तर्राष्ट्रिय बजारको सुनको भाउमा त्यति असर गर्दैन ।”

शाक्य नेपालमा माग बढेपनि त्यसको असर अन्तर्राष्ट्रिय बजारमा नपर्ने तर अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे त्यसको असर नेपालमा पनि पर्ने बताउँछन् । उनी भन्छन्, “सिजन आउन लागेको छ त्यो कारणले पनि केही बढेको हो तर हाम्रो कारणले मात्रै मूल्य बढेको होइन ।”

त्यसैगरी मंसिर महिनामा विवाहका लगनहरु हुने हुनाले सुनको माग बढेको महासंघले जनाएको छ । नेपालमा हाल वाणिज्य बैंक मार्फत दैनिक २० किलो सुन आयात हुँदै आइरहेको छ । सो आयात कोटाले माग धान्न कठिन भइरहेको व्यवसायी बताउँछन् । 

महासंका अध्यक्ष शाक्य नेपाली बजारमा अहिले दैनिक ३० किलो सुनको माग रहेकाे बताउँछन् । यहि विषयलाई लिएर महासंघले शुक्रबार गोल्ड बैंक मार्फत सुनको आयात गर्न र दैनिक कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको समेत गरेको छ ।

राष्ट्र बैंकको विदेशी बिनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष महासंघले मुलुकभर रहेका सुनचाँदी ब्यवसायीको संख्या, यो ब्यवसायमार्फत प्राप्त रोजगारी, राज्यलाई प्राप्त राजस्व लगायतका विषय समेटिएको प्रतिवेदन बुझाउँदै हाल हुँदै आएको दैनिक २० किलो सुन अपर्याप्त भएको जनाएको हो ।

अध्यक्ष शाक्यको नेतृत्वमा शुक्रबार गएको महासंघको प्रतिनिधिमण्डलले हालको आपूर्ति ब्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै तत्काल आपूर्ति ब्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको हो । “हामीले कोटा बढाउन राष्ट्र बैंकसँग आग्रह गरेका छौं र हामी आशावादी पनि छौं ।” शाक्यले भने ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७८, आइतबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।