आयात नियन्त्रणसँगै ८३ अर्बको शोधनान्तर घाटा सवा ७ अर्बले घट्यो

0
Shares

चालु आर्थिक वर्षको असोज महिनामा देशको शोधनान्तर घाटा भदौको तुलनामा ७ अर्ब २७ करोड रूपैयाँले घटेको छ । भदौ महिनामा ८३ अर्ब ४१ करोड रुपैयाँ शोधनान्तर घाटा रहेकोमा असोज महिनामा घटेर ७६ अर्ब १४ करोड रुपैयाँमा झरेको छ ।

कोरोनाले अस्त व्यस्त बनाएको आर्थिक गतिविधि लयमा फर्केसँगै आयात उच्च दरमा बढ्न गयो ।

उच्च आयातका कारण शोधनान्तर घाटा बढ्न तथा विदेशी विनिमय सञ्चितीमा दबाब पर्न थालेपछि केही वस्तुहरुको आयातमा नियन्त्रण गर्यो । त्यसले गर्दा भदौ महिनाको तुलनामा असोज महिनामा करिब ७ अर्बले शोधनान्तर घाटा घटेको हो ।

चालु आवको भदौमा ३ खर्ब १४ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा असोज महिनामा करिब १ खर्ब ६४ अर्ब रुपैयाँले बढेर ४ खर्ब ७८ अर्ब ५१ रुपैयाँ पुगेको छ । चालु आवको असोज महिनाको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६३.७ प्रतिशतले धेरै हो ।

चालु आर्थिक वर्षको असोजसम्ममा चालु खाता १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा गत आवको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता चालु आवको सो अवधिमा १ अर्ब २८ करोडले घाटामा रहेको छ ।

चालु आवको पहिलो त्रैमासमा पूँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई १ अर्ब ९२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर ३ अर्ब ५६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १६ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।