सोयाविन र पाम तेलको निर्यात १०९% ले बढ्यो, असोजमा २१ अर्बको निर्यात

0
Shares

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैंची, जस्तापाता, तार, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई ४७८ अर्ब ५२ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा कुल वस्तु व्यापार घाटा ५८.३ प्रतिशतले वृद्धि भई ४१३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो ।

चालु आवको असोजसम्ममा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । गत अवाको वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको असोजसम्ममा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ५४ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा यस्तो आयात ३३ अर्ब ९२ करोड रुपैयाँ बराबरको भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० कार्तिक २०७८, मंगलबार  १८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।