शुक्रबार तीन वाणिज्य बैंकले साधारण सभा आह्वान गर्दै सूचना प्रकाशन गरेका छन् ।
ग्लोबल आईएमई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले साधारण सभा डाकेका हुन् ।
ग्लोबल आईएमई बैंकले मंसिर २७ गते सोमबार, स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २८ गते मंगलबार र बैंक अफ काठमाण्डूले मंसिर २९ गते बुधबार साधारण सभा बोलाएको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले ग्लोबल आईएमई बैंकले मंसिर १३ गते सोमबार, स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर १० गते र बैंक अफ काठमाण्डूले पनि मंसिर १० गते शुक्रबार शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।
यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा शेयर कारोबार भई शेयरधनी कायम भएका लगानीकर्ताहरुले सम्बन्धीत बैंकको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिस्ठान कमलादी काठमाडौंमा १५ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते सम्पनन बैठकले उक्त मितिमा सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर र ३.५० प्रतिशत नगद गरी १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यसैगरी बैंकको जारी तथा चुक्ता पूँजी बढाउनको लागि प्रबन्धपत्र, नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लागयतका प्रस्तावहरु माथि पनि छलफल गरी पारित हुनेछ ।
स्ट्याण्डर्ड चार्टर्ड
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मंसिर २८ गते, मंगलबार, आफ्नो प्रधान कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजे ३५ औं वार्षिक साधारण सभा बोलाएको छ ।
कोभिड १९ महामारीको जोखिम कायमै रहेकाले बैंकले भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा बोलाएको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित गरी ३.०६ प्रतिशत नगद लाभांश गरी कुल १३.०६ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
सभाको अन्य प्रस्तावमा बैंकको प्रबन्धपत्रमा संशोधन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्तावहरु पनि पारित गर्नेछ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले मंसिर २९ गते बुधबार, नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजे २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा शेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र करसहित ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गन घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।
उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आव २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया