माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाबाट उत्पादन भएको ४ मेगावाट विद्युत सोमबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
लमजुङमा निर्माण सम्पन्न आयोजनाको प्रवद्र्धक कम्पनी छ्याङ्दी हाइड्रोपावरका अनुसार आयोजनाबाट परीक्षण उत्पादन सुरु भई सोमबारदेखि विद्युत गृहबाट उत्पादित विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हो ।
विसं २०७७ चैतदेखि नै आयोजनाबाट उत्पादन सुरु गर्ने लक्ष्य भएपनि कोभिड-१९ महामारीका कारण निर्माण प्रभावित हुँदा ७ महिना ढिलो गरी विद्युत उत्पादन भएको हो ।
आयोजनाबाट परीक्षण उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणले २ सातासम्म निःशुल्क पाउनेछ । परीक्षणको अवधि पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने कम्पनीले जनाएको छ ।
विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७८ भदौदेखि विद्युत उत्पादन गर्नुपर्नेमा प्राधिकरणले दिएको तालिकाभन्दा २ महिना ढिलो गरी आयोजनाले उत्पादन सुरु गरेको हो ।
आयोजनाको लागत ७६ करोड रुपैयाँ पुगेको छ । आयोजनामा बैंक अफ काठमाण्डूको अगुवाईमा कुमारी बैंकले ५६ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने २० करोड रुपैयाँ स्वःपूँजी लगानी छ ।
स्वःपूँजी लगानी जुटाउनका लागि कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ८ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले निर्माण गरेको २ मेगावाटको छ्याङ्दी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा रहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया