नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा लगानीकर्ताको चासोका दुई विषय शेयर धितोको ४-१२ को सीमा र सीडी रेसियो सम्बन्धि व्यवस्थामा तत्काल परिमार्जन नगर्ने संकेत गरेपछि लगानीकर्ताको मनोबल घट्दा मंगलबार पुनः धितोपत्र बजार ओरालो लागेको छ ।
नेपाल राष्ट्र बैकको नेपाल राष्ट्रिय कर्मचारी संगठनले मंगलबार आयोजना गरेको वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा कसैको दबाबमा नीति संशोधन नहुने बताएपछि त्यसको असर बजारमा परेको हो ।
विभिन्न सञ्चार माध्यमहरुमा नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जामा लगाउदैँ आएको ४/१२ को सीमा र सीसीडि रेसियो गणनामा राष्ट्र बैंकले केही लचकता अपनाउने आशा लगानीकर्तामा जाग्दा सोमबार बजारमा सामान्य सुधार भएको थियो ।
एकल ग्राहक मार्जिन कर्जाकोको सीमा व्यक्तिगत र संस्थागत लगानीकर्ताहरुलाई समेत संसोधन गर्ने समाचार प्रवाहले गत बिहीबार ३२.३८ र आइतबार ११.५९ अंक घटेको बजारमा सोमबार ७.९० अंकको समान्य सुधार आएको थियो । तर मंगलबार गभर्नर अघिकारीले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याएका व्यवस्था सुझबुझ र दीर्घकालीन हीतलाई हेरेर नै ल्याएकाले तत्काल परिवर्तन नहुने अभिव्यक्ति दिएपछि बजारमा फेरि बिक्री चाप हाबी भएको हो ।
अर्कोतर्फ बैंकिङ प्रणालीमा १७ अर्ब रुपैयाँ तरलता भएपनि बैंकको कर्जा निक्षेप अनुपात ९० भन्दा माथि रहेको हुनाले पनि कर्जा लगानी योग्य रकमको अभाव छ । सोमबार मात्र बैंक वित्तीय संस्थाले ३६ अर्ब ८४ करोड रुपैयाँ बरावरको स्थायी तरलता सुविधा ९एसएलएफ० प्रयोग गरेका छन् । मंसिरदेखि बैंकहरुले मुद्दती निक्षेपमा दश प्रतिशतभन्दा माथि ब्याजदर दिन थालेका छन् । चालु आर्थिक वर्षयता बैंकिङ्ग प्रणालीमा ६८ अर्ब निक्षेप थपिँदा ३०० अर्ब भन्दाबढी कर्जा प्रवाह भएको छ ।
नेपाल इन्भेटर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार सरकारले पुरानतवादी सोच (अथोडक्स) ले हेर्दा पूँजी बजार विस्तारमा अवरोध पुगेको बताउँछन् । मासिक १ अर्बभन्दा धेरै राजश्व योगदान गर्ने यस क्षेत्रमा दीर्घकालीन नीति अबलम्त्रबन नभई ३/३ महिनामा नीति परिवर्तन हुने गरेकाले पनि पूँजीबजार अस्थीर बन्ने गरेको उनको बुझाइ छ ।
राजश्वमा यति ठूलो योगदान गर्ने यो क्षेत्रलाई देशको आर्थिक मेरुदण्डको रुपमा बुझेर माया गर्दै नियम कानून बनाउनुपर्नेमासरकारले पूँजीबजार बढ्दा बक्रदृष्टिले हेर्दा लगानीकर्ता पीडित बन्नुपरेको उनी बताउँछन् ।
राष्ट्र बैंकले कर्जा पूँजी निक्षेप (सीसीडी) अनुपात हटाएर कर्जा निक्षेप (सीडी) लागू गर्दा लगानीयोग्य रकमको अभाव भएको तथा ब्याजदर बढेकाले पनि त्यसको असर पूँजी बजारमा परेको उनको बुझाई छ । लगानीकर्ताले खाइपाई आएको सुविधामा कटौती गर्दा लगानीकर्तालाई पूँजी बजारमा टिक्न सक्ने अवस्था नरहेकाले सरकारले उदार भएर पूँजी बजारको नीति लगानीकर्तामैत्री बनाउनुपर्ने उनले बताए ।
मंगलबार बजार मापक सूचक नेप्से ३२.२९ अंक घटेर २७३३.१४ बिन्दुमा झरेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा २४ करोडले बढेर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँ बराबरको कारोबार भएको छ । यसदिन ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इण्डेक्स ३.९८ अंक घटेर ५१५.४८ बिन्दुमा झरेको छ । मंगलबार २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर ५३ हजार ७६७ वटा संख्यामा खरिदबिक्री भएका छन् ।
मंगलबार कारोबारमा आएका १३ मध्ये १२ उपसमूहको सूचक घटेको छ भने अन्य उपसमूहको परिसूचक मात्र बढेको छ । यसदिन फाइनान्स सूचक सर्वाधिक ३.४० प्रतिशत घटेको छ भने होटल, जलविद्युत र विकास बैंकको सूचक २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । अन्यको सूचक भने ०.९४ प्रतिशत बढेको छ ।
आज कारोबार रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा अगाडि छ । कम्पनीको साढे ४१ करोड रुपैयाँ बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी नेशनल हाइड्रोपावर १२.२१ करोड, महालक्ष्मी विकास बैंक १०.४२ करोड र अपि पावरको १०.३३ करोडको शेयर कारोबार भएको छ ।
अरुण काबेली, हिमाल दोलखा हाइड्रोपावर, नबिल बैंक, आईसिएफसी फाइनान्स, ज्योति विकास बैंकर लुम्बिनी विकास बैंक पनि शीर्ष दश ठूलो कारोबार हुने कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको लुम्बिनी विकास बैंकको ७.५२ करोडको शेयर कारोबारमा आएको छ ।
.jpg)
घटेको बजारमा पनि मानुषी लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लागेर प्रतिकित्ता शेयरमूल्य १९९०.१० रुपैयाँ पुगेको छ । कम्पनीको शेयर दश प्रतिशत अर्थात १८०.९० रुपैयाँले बढेको हो । नेपाल टेलिकम र गणपति माइक्रोफाइनान्सको शेयरमूल्य पनि २ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उता आईसीएफसी फाइनान्सको सर्वाधिक ५.८४ प्रतिशतले मूल्य घट्दा एनआईबिएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यपनि ५ प्रतिशतभन्दा धेरै घटेको छ ।गुडविल फाइनान्स सिंगटी हाइड्रोपावर, मल्टिपर्पस फाइनान्स, पोखरा फाइनान्स, खानीखोला हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट र श्रीइन्भेष्ट फाइनान्सका लगानीकर्ताले पनि मंगलबारको बजारबाट ४ प्रतिशतभन्दा धेरैले गुमाएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया