गत आर्थिक वर्षमा प्रदेश २ का बैंक तथा वित्तीय संस्थाको औषत कर्जा निक्षेप अनुपात १४८.२९ प्रतिशत रहेको छ । यो औषत प्रतिशत नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा माथि हो ।
चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत मात्र तोकेको छ । गत आर्थिक वर्षको बैंक तथा वित्तीय संस्थालाई कर्जा निक्षेप अनुपातको सट्टा पूँजी, कर्जा तथा निक्षेप अनुपात ८५ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था थियो ।
प्रदेश २ का विसं २०७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ३०.२७ प्रतिशतले बढेर २ खर्ब ४८ अर्ब ५१ करोड पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा यस्तो निक्षेप २६.८१ प्रतिशतले वृद्धि भएको थियो । त्यसैगरी २०७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशमा प्रवाह गरेको कुल कर्जा २९.३४ प्रतिशतले वृद्धि भई ३ खर्ब ६८ अर्ब ५३ करोड पुगेको छ ।
अघिल्लो आवमा यस्तो कर्जा प्रवाह २७.०७ प्रतिशतले वृद्धि भएको थियो ।
गत आवमा उक्त प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरु (क, ख र ग वर्ग) को कुल शाखा संख्या १ हजार ६०७ रहेको छ । सञ्चालनमा रहेका शाखाहरुमध्ये वाणिज्य बैंकका ५४९, विकास बैंकका ७९, वित्त कम्पनीका २५ र लघुवित्त वित्तीय संस्थाहरुको ९५४ शाखाहरु सञ्चालनमा रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । सो प्रदेशको बारा जिल्लामा सबैभन्दा बढी २३१ शाखा सञ्चालनमा रहेका छन् भने रौतहट जिल्लामा सबैभन्दा कम १६७ शाखा सञ्चालनमा रहेका छन् ।
गत आवमा प्रदेश नं. २ मा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ०.११ प्रतिशत, तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ५.१४ प्रतिशत र फलफूल तथा मसलाले ढाकेको क्षेत्रफल ५.०२ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा खाद्य तथा अन्य बालीको उत्पादन १.२० प्रतिशत, तरकारी तथा बागवानी उत्पादन ०.५९ प्रतिशत र फलफूल तथा मसला उत्पादन १४.५१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको अध्ययनले देखाएको छ ।
गत आवमा उक्त प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ४४ अर्ब २८ करोड १६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत आवमा उद्योगहरूको क्षमता उपयोग औषतमा ५२.४७ प्रतिशत रहेको केन्द्रीय बैंकको अध्ययनमा उल्लेख छ ।
गत आवमा सो प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले औद्योगिक कर्जा अन्तर्गत १ खर्ब ५ अर्ब २३ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो प्रदेशबाट परिचालित कुल निक्षेपमा पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी २५.१६ प्रतिशत र रौतहट जिल्लाको हिस्सा सबैभन्दा कम ७.१५ प्रतिशत रहेको छ । त्यसैगरी, कुल कर्जा प्रवाहतर्फ पर्सा जिल्लाको अंश सबैभन्दा बढी ३७ प्रतिशत र सप्तरी जिल्लाको सबैभन्दा कम ५.२३ प्रतिशत रहेको छ ।
गत आवमा प्रदेश २ मा घरजग्गा रजिष्ट्रेसन संख्यामा ५४.११ प्रतिशतले कमी आएको छ । तर, घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्व भने ७९.८८ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया