कोभिडको दोस्रो लहरपश्चात ८७.२% उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा, ९७.२% रोजगारी प्रदान

0
Shares

कोभिड–१९ महामारीको दोस्रो लहरपश्चात ८७.२ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएका छन । राष्ट्र बैंकले सार्वजनिक गरेको कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

 सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशत बाट ९७.२ प्रतिशत पुगेको छ ।

सर्वेक्षण नतिजाअनुसार २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा २०७८ कात्तिकमा उद्योग/व्यवसाय सञ्चालनमा क्रमिक रुपमा सुधार आएको देखिएको छ ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कार्तिकमा बढेर ८७.२ प्रतिशत पुगेको देखिएको छ । गत बैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा २.३ प्रतिशत उद्योग/व्यवसायहरु मात्र सञ्चालन हुन नसकेको पाइएको छ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिन्छ । ठूला उद्योग/व्यवसायहरु पूर्ण रुपमा संचालनमा आएका छन्।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेकोछ । २०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुलेन्ट क्षेत्रको सुधार तुलनात्मक रुपमा कम रहेको छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग/व्यवसायको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, कोभिड महामारी आउनु अगाडिको अवस्था भने अझै उत्पादन/कारोबार पुगिसकेको देखिदैन ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भइ कोभिड पूर्वको अवस्था नजिक पुगेको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले २०७८ कात्तिकमा आइपुग्दा ९७.२ प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको छ ।

उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग/व्यवसायहरुको औसत तलब- ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको देखिएको छ । खानी तथा उत्खनन र विद्युत्, ग्याँस तथा पानी लगायत क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब-ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ।

सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले बजार माग नबढ्नालेकारोबारमा ह्रास आएको, कर्जाको ब्याजदर उच्च र अस्थिर भएको, उत्पादन लागत बढेकोले कठिनाइ भएको जस्ता समस्याहरुलाई प्राथमिकतामा राखेका थिए ।

कोभिड–१९ महामारीको दोस्रो लहरपश्चात् उक्त संक्रमण विरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भइ पूनरुत्थान उन्मुख रहेको र यस परिप्रेक्ष्यमा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्थामा सुधार आइ अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा राष्ट्र बैंकको छ ।

कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्याङ्क संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेको देखाएको थियो । त्यसैगरी २०७७ मंसिरमा प्रथम र २०७८ बैशाखमा दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।

व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो वस्तुस्थिति बारे २०७७ असार, २०७७ मंसिर र २०७८ बैशाखको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ कात्तिक ७ देखि १७ गतेसम्म तेस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ मंसिर २०७८, बुधबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।