मुसिकोटमा ३० करोडको लागतको डेरी उद्योगको शिलान्यास

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले रुकुम जिल्ला, मुसिकोट नगरपालिकाको सोलावाङमा ३० करोडको लागतमा बन्न लागेको डेरी उद्योगको शनिबार शिलान्यास गरेका छन् ।

डेरी उद्योग उद्घाटन गर्दै मन्त्री शर्माले यसबाट पालिकाका किसानहरु आत्मनिर्भर बन्ने क्रमको सुरुवात हुने बताए । दैनिक एक लाख लिटर दुध संकलन गरेर प्रशोधन गर्ने लक्षसहित निर्माण हुन लागेको डेरी उद्योगमा आवश्यक पर्ने दुध उत्त्पादन गर्नको लागि किसानहरुलाई उन्नत जातको दुधालु भैंसी र उन्नत जातको दुधालु गाइहरु लागत सहभागितामा वितरण गरिने उनले जानकारी दिए ।
‘यसबाट हरेक दिन किसानको घरमा पैंसा भित्रिन्छ, प्रशोधित दुधबाट बन्ने पदार्थबाट प्राप्त आम्दानीमा समेत किसानहरुको हिस्सा लाग्छ ।’

उनले भने ‘जनतालाई गरिबीबाट माथि उठाउने र हरेक युवालाई स्वरोजगार बनाउने अभियान यसैबाट शुरु हुनेछ । आगामी ६ महिनाभित्र निर्माण सम्पन्न हुने लक्ष रहेको डेरी उद्योग सरकारी स्वामित्वको स्यार्पु कृषि कम्पनीको नाममा बन्न लागेको हो ।

‘समृद्धिको अभियान भनेको सवभन्दा कमजोर अवस्थामा रहेको जनतालाई आत्मनिर्भर बनाउने अभियान हो, समृद्धिको अभियान भनेको आर्थिक कुरा मात्र होइन, शिक्षामा सुधार, स्वास्थ्य सेवामा स्तरोन्नती, उत्पादनमा वृद्धि हो । यो कामलाई तीव्रताका साथ अघि बढाउनुस् ।’ उनले थपे ‘उपलब्ध प्राकृतिक स्रोत साधन र श्रम शक्तिलाई जोडेर उत्पादनमा लगाउने कामको सुरुवात गर्दैछौं ।’

यस्तै आफूले प्राथमिक शिक्षा ग्रहण गरेको मुसिकोट–५ सेरिगाँउस्थित यमुनानन्द नमूना माध्यामिक विद्यालयमा निर्मित कम्प्युटर ल्याबको उद्घाटन गर्दै मन्त्री शर्माले अबदेखि हरेक विद्यालयहरु उद्यमशील हुनुपर्ने बताए । ‘विद्यालयहरु किताव पढाउने, पाठ घोकाउने कार्यमा मात्र सीमित हुनु हुँदैन, पढेको कुरा व्यवहारमा लागू गर्ने र सँगसँगै आय आर्जन गर्ने प्रयोगशालासहितको हुनुपर्छ ।’ उनले भने । यसैलाई मध्येनजर गर्दै सरकारले ‘पढ्दै कमाउदै’ कार्यक्रम ल्याएको भन्दै उनले यो कार्यक्रम चालु शैक्षिक सत्रबाटै लागू हुने जानकारी दिए । यस्तै आगामी शैक्षिक सत्रदेखि डिजिटल लर्निङ्ग सेन्टरहरु स्थापना गरी नयाँ शैलीमा अध्ययन अध्यापन समेत गराईने मन्त्री शर्माले बताए ।

सरकारले पहिलो पटक गरिब र विपन्नलाई सम्झेर देशका पाँच लाख विपन्न परिवारलाई १० हजारका दरले आर्थिक राहत, दीर्घ रोगीहरुलाई मासिक पाँच हजारका दरले उपचार खर्च, घाइते अपाङ्गता भएकाहरुलाई उपचार र जीवन निर्वाह भत्ता, शहीद परिवारहरुलाई मासिक तीन हजारका दरले जीवनवृत्ति, दलित आवास, महिला पहिला जस्ता जनपक्षीय कार्यक्रमहरु ल्याएकोले त्यसबाट लाभ लिन उनले लक्षित समुदायलाई आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७८, आइतबार  १० : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।