अर्थतन्त्र चलाएमान भएसँगै रोजगारीमा विदेशिने कामदारकाे संख्या बढ्दाे, ४ महिनामा साढे १ लाख बाहिरिए

0
Shares

चालु आर्थिक वर्ष यता वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या बढेको छ । विश्वमहामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमणको जोखिम खोपका कारण न्यून हुँदै जाँदा युरोपीयन, अमेरिकी साथै खाडी मुलकुहरुको समेत अर्थतन्त्र चलामान हुँदै जान थालेको छ । अर्थतन्त्रमा आएको यस किसिमको सुधारले विश्व श्रम बजारमा नेपाली कामदारको माग बढ्न थालेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

“कोभिड-१९ का कारण थलिएको विश्वका श्रम बजारहरु एउटा सामान्य गतिमा फर्किँदै गरेको अवस्थामा थुप्रै श्रम बजारमा श्रमिकहरुको खाँचो बढेको अवस्था छ ।” वैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवार भन्छन्, “त्यसो हुँदा श्रमिकको माग पनि बढेर आउने, कोभिडको समयमा बेरोजगार भएर बसेका तथा रोजगारीको कमजोर अवस्था भएका युवाहरु वैदेशिक रोजगारीमा आकर्षित भएका छन् ।”

चालु आवको प्रथम चौमासिकमा वैदेशिक रोजगार विभागबाट १ लाख ५६ हजार ५७ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । जसमा ९६ हजार ३३४ जनाले (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानीकरण) र ५९ हजार ७२३ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

पहिलो महिना अर्थात साउनमा रोजगारीका लागि १३ हजार ८०० जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । तर भदौ महिनामा पहिलो महिनाको तुलनामा झण्डै दोब्बर अर्थात २४ हजार ६९२ जना तथा असोज महिनामा २७ हजार ८२४ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । रोजगारीमा जानेको संख्या क्रमशः बढ्न थालेपछि कार्तिक महिनामा सो संख्या बढेर ३० हजार १८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

देशभित्र रोजगारीको सम्भावना बढ्न नसक्दा हरेक महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीहरुको संख्या बढ्दो छ । पहिलो महिना र चौथो महिनाको तथ्यांक हेर्दा साढे २ गुणाले अन्तिम श्रम स्वीकृति लिएको देखिएको छ । अर्कोतर्फ नेपालीहरुको महान चाड दशैं तथा तिहार सकिएकाले पनि वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा वृद्धि भएको हो । चाडवाड मनाउनका लागि नै विदेशमा रहेका पनि घरफर्किर्ने प्रवृत्ति रहेका नेपालीहरुको चाड सकाएर विदेश जाने संकृति जस्तै बनेको देखिन्छ ।

चाडवाड सकिएसँगै पुनः श्रम स्वीकृति लिनेको संख्या पनि सोही अनुरुपमा बढेको देखिन्छ । चालु आवको पहिलो महिना अर्थात साउनमा ११ हजार ६२८ जनाले पुनः श्रम स्वीकृति लिएकोमा भदौमा सो संख्या बढेर ११ हजार ३४८ जना र असोजमा ११ हजार ८४७ जना पुगेका छन् ।

कार्तिक महिनासम्म आइपुग्दा पुनः श्रम स्वीकृति लिनेको संख्या अन्य महिनाको तुलनामा करिब दोब्बर छ । कार्तिक महिनामा २४ हजार ९०० जनाले पुनः श्रम स्वीकृति लिएको विभिागले जनाएको छ ।  कोभिड-१९ का कारण थलिएको विश्व श्रम बजार खोपको व्यवस्थापछि पुनः क्रमश खुला गरिँदै गइरहेको छ । सँगैसँगै नेपालले पनि विभिन्न देशमा श्रम सम्झौताका आधारमा श्रम स्वीकृति दिइरहेको छ ।

आन्तरिक श्रम बजारहरुको संकुचित अवस्था, कम सम्भावनाहरु, साथै वैदेशिक रोजगारीका केही आकर्षणका कारणले पनि देश छाडेर विदेशिने युवाहरुका संख्या दिनप्रतिदिन बढ्दो छ । जुन कुरालाई तथ्यांकले पनि पुष्टि गर्ने निर्देशक डम्बर बहादुर सुनुवार बताउँछन् ।
राजनैतिक दलहरुले आफ्नो घोषणापत्र तथा नीतिमा देशभित्रै रोजगारी बढाउने उद्घोष गरेपनि व्यवहारमा भने सो अनुसारको हुन सकेको छैन । थोरै रकम कमाउनका लागि नै अदक्ष कामदारको रुपमा विदेशिनुपर्ने बाध्यता एकातिर छ भने त्यसबाट उत्पन्न हुने गरेको पीडाको पाटो झनै डरलाग्दो छ ।

वैदेशिक रोजगार बोर्डले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने चालु आवको चार महिना अर्थात साउनदेखि कार्तिक मसान्तसम्ममा ८२ जना नेपालीको मृत्यु भएको छ । जसमा ३ जना महिला र ७९ जना पुरुषको मृत्यु भएको तथ्याङ्क छ । सोही अवधिमा रोजगारीका लागि ९६ हजार ३३४ जनाले (संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानीकरण) अन्तिम श्रम स्वीकृति लिएका छन् । भने सोही समयमा ५९ हजार ७२३ जनाले पुनः श्रम स्वीकृति लिइसकेका छन् ।

श्रम गर्नका लागि नै वैदेशिक रोजगार विभाग मार्फत श्रम स्वीकृत लिएर नेपालबाट ११० मुलुकमा कामदार जाने गरेका छन् । बोर्डका अनुसार अहिले औपचारिक रुपमा ७२ देशमा मात्र नेपालीहरु रोजगारीका लागि पुगेका छन् । ७२ देशमध्ये सबैभन्दा धेरै मलेसियामा नेपाली कामदार जाने गरेको छन् भने साउदी, कतार, कुबेत लगायतका देशहरुमा जाने नेपाली कामदारको संख्या पनि उच्च छ ।

स्वदेशी उत्पादनमा कमी हुँदा दैनिक उपभोग्य वस्तु चामलदेखि विलासितका सामानसम्मको उच्च आयातका कारण चालु आर्थिक वर्षको चार महिनामा ब्यापार घाटा पौने ६ खर्ब रुपैयाँ पुगेको छ । अर्थतन्त्रको मेरुदण्ड नै वैदेशिक रोजगारी बन्ने गरेको छ । देशको अर्थतन्त्र नै रेमिट्यान्समा आधरित छ । देश भित्रने रेमिट्यान्स घट्दा समग्र देशको आर्थिक अवस्था नै डामाडोल बन्ने खतरा बढेकाे छ । अघिल्लो आवको प्रथम त्रैमासिकको तुलनामा रेमिट्यान्स आप्रवाह घट्दा विदेशी मुद्रा सञ्चिति घटेको छ भने बैंकिङ्ग प्रणालीमा तरलताको अभाव बढेको छ ।

मृत्युकुञ्ज बन्दै साउदी अरब

चालु आवको चार महिना अवधिमा नेपालबाट साढे १ लाखभन्दा बढी नेपाली कामकै लागि विभिन्न देशमा पुगेका छन् । यस अवधिमा ७९ जना पुरुष र ३ जना महिला गरी ८२ जना नेपाली कामदारले कार्यस्थल देशमा नै मृत्युवरण गरेका छन् ।

रोजगारीका लागि नेपाली कामदार पुगेका ७२ देशमध्ये साउदी अरबमा सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु हुने गरेको छ ।

गत साउनदेखि कार्तिकसम्म चार महिनाको अवधिमा साउदीमा मात्रै ३३ जना नेपालीको मृत्यू भएको बैदेशिक रोजगार बोडले जनाएको छ ।
त्यस्तै धेरै नेपालीको मुत्यू हुने देशको दोस्रो स्थानमा रहेको मलेसियामा ३० जनाको मृत्यु हँदा कतारमा, यूएईमा, कुवेतमा लगायतका देशहरुमा पनि धेरै नेपालीको भएको छ ।

रेमिट्यान्स ७.६ प्रतिशतले घट्यो

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो हिस्सा छ । बढ्दो आयातलाई रेमिट्यान्सले सपोर्ट नगरेको खण्डमा वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापनमा चुनौति पैदा हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकल उपलब्ध गराएको चालु आवको तीन महिना अर्थात साउन देखि असोज महिनासम्मा अघिल्लो आवको यसै अवधिको तुलनामा ७.६ प्रतिशतले रेमिट्यान्स घटेको छ ।

२०७८ असोजसम्ममा २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो आवको यसै अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेर २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ भित्रिएको थियो । अघिल्लो आवको तीन महिनाको तुलनामा चालु आवको यसै अवधिमा १९ अर्ब ५४ करोड रुपैयाँ कम रेमिट्यान्स आएको हो ।

असोज मसान्तसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो आवको यसै अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले वृद्धि भई २ अर्ब १८ करोड पुगेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७८, आइतबार  १३ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।