राप्रपा अध्यक्षमा लिङ्देन विजयी

0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्षपदमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

थापालाई १९९ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् ।

शनिबार सम्पन्न निर्वाचनमा उनले एक हजार ८१७ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिस्पर्धी कमल थापाले एक हजार ६१७ मत प्राप्त गरेका थिए ।

 

निर्वाचनमा ५३१ मत बदर भएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा क्रमसः विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र रोशन कार्की (महिलातर्फ) विजयी भएका छन् ।

यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् ।
राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो ।

नवनिर्वाचित अध्यक्ष लिङ्देन लोकप्रिय नेता

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापना कालदेखि कै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरु गरेका थिए ।

उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी विसं २०४८ मा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा संस्थापक केन्द्रीय अध्यक्ष बनेका थिए । जनताका बीचमा रमाउन चाहने यी विकासप्रेमी नेता स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस–३ बाट दुईपटकसम्म वडाध्यक्ष पनि बनेका थिए । राजनीतिमा अनेकौँ दुःख र कष्ट भोगेका उनी विसं २०६०÷६१ मा तत्कालीन जिविस झापाको सभापति समेत बनेका थिए ।

उनी विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गर्दै झापा क्षेत्र नं ३ बाट सांसद निर्वाचित भएका हुन्। नवनिर्वाचित अध्यक्ष लिङ्देनले सिटौलालाई १३ हजार ४४३ मतान्तरले पराजित गरेका थिए । देशप्रेमी, विकासप्रेमी, भ्रष्टाचारविरोधी नेता अध्यक्ष लिङ्देन युवापुस्तामा प्रिय छन् । उनको प्रभावकै कारण स्थानीय तहका निर्वाचनमा जिल्लाका तीन तह गौरीगञ्ज, हल्दिबारी र केचनकवल गाउँपालिकामा राप्रपाले अध्यक्ष जितेको थियो ।

पार्टीको केन्द्रीय जिम्मेवारीमा रहँदा पनि उनले अधिकांश समय आफ्नो निर्वाचन क्षेत्रका जनतासँगै बिताए । पार्टीको केन्द्रीय सदस्य, महामन्त्री, सङ्गठन विभाग प्रमुख लगायत जिम्मेवारी सम्हालिसक्नुभएका उनले एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ मंसिर २०७८, आइतबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।