धितोपत्रको दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ताका लागि करिब साढे १५ अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष योजनाको इकाई बिक्रीमा आउने भएको छ ।
चौध सामुहिक लगानी कोष योजनाहरुले लगानीकर्ताहरुका लागि प्राथमिक बजारमा नै १५ अर्ब ३५ करोड रुपैयाँको म्युचुअल फण्डका इकाई बिक्रीमा ल्याउन विभिन्न समयमा नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेका हुन् । २०७७ माघदेखि २०७८ कार्तिक १४ गतेसम्ममा यो संख्याको इकाई जारीका लागि अनुमति माग गरेका हुन् ।
मंसिर १८ गते शनिबारसम्ममा एनआईसी एशिया क्यापिटल र कुमारी क्यापिटलका २/२ वटा र अन्य दश वटा योजना व्यवस्थापकले एक।एक वटा गरी कुल १४ वटाले १५ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ अर्ब ५३ करोड ५० लाख इकाई बिक्रीमा ल्याउन भएका हुन् ।
बिक्रीमा आउने १४ मध्ये नबिल इन्भेष्टको नबिल फ्लेक्सी क्याप (७५ करोडको) र शुभलक्ष्मी कोष (५० करोडको) गरी १ अर्ब २५ करोडको दुई वटा खुलामुखी योजना बिक्रीमा आउन लागेका छन् । बाँकी १४ अर्ब १९ करोड मूल्यका १२ वटा भने बन्दमुखी प्रकृतिका योजना रहेका छन् ।
एनआईसी एशिया ग्रोथ फण्ड २ को आकार सबैभन्दा धेरै दुई अर्बको रहेको छ । एनआईबिएल ग्रोथ फण्डको १ अर्ब ६० करोड बराबरको रहेको छ । एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, सानिमा ग्रोथ फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३, सनराइज फोकस्ड इक्वीटी फण्ड, ग्लोलब आईएमई ब्यालेन्स्ड फण्ड १ र कुमारी धनवृद्धि योजना गरी ६ वटा योजनाले समान १ अर्ब २० करोडका दरले ७ अर्ब २० करोडको मूल्य बराबरको ७२ करोड इकाई जारी गर्न अनुमति मागेका हुन् ।
यसैगरी सिटिजन्स सुपर थर्टी र एनआईसी एशिया फ्लेक्सी क्यापले समान १,१ अर्बको १०,१० करोड इकाई बिक्री अनुमति मागेका छन् । प्रभु स्मार्ट क्यापिटले ८० करोड, नबिल फ्लेक्सी क्यापले ७५ करोड तथा कुमारी सुनौलो लगानी योजना र शुभलक्ष्मी कोषले ५०।५० करोड रुपैयाँ बराबरको इकाई जारी गर्न अनुमति माग गर्दै सेबोनमा निवेदन दिएका छन् ।











प्रतिक्रिया