वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रोजगारीका लागि आकर्षक मुलुकमा पठाइदिने भन्दै ठगी गर्नेको संख्या उत्तिकै मात्रामा बढीरहेको तथ्याङ्कमा पाइएको छ ।
पछिल्लो चार महिना अवधिमा मात्रै वैदेशिक रोजगार विभागमा ११ करोड बढीको मागदाबी गर्दै १९७ वटा उजुरी परेका छन् । जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३१ वटा बढी हो । अघिल्लो वर्ष सोही अवधिमा ६६ वटा उजुरी परेका थिए ।
विसं २०७८ साउनदेखि कार्तिकसम्ममा १९७ उजुरीबाट ११ करोड ३० लाख ३७ हजार ६०० रुपैयाँ बराबरको माग दाबी परेको वैदेशिक रोजगार विभागले जनाएको छ । अघिल्लो वर्ष २०७७ को साउनदेखि कार्तिकसम्ममा विभागमा ६६ वटा उजुरीबाट ७ करोड ४१ लाख ५५ हजार ३०१ माग दाबी गर्दै विभागमा उजुरी परेको थियो ।

तथ्याङ्क स्रोत: वैदेशिक रोजगार विभाग
कोभिड-१९ का कारण शिथिल बनेको विश्वको अर्थतन्त्रमा आएको सुधारले विश्व श्रम बजारमा नेपाली कामदारको माग बढ्न थालेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
वैदेशिक रोजगारीमा हुने ठगीको उजुरी विभागमा हरेक वर्ष बढ्दो क्रममा रहेको पाइएपनि उजुरीलाई कार्यन्वयन गर्न भने कठिनाई रहेको विभाग बताउँछ । उजुरी कार्यन्वयन गर्नका लागि प्रमाण तथा आधारको आवश्यकता पर्छ । तर पीडितसँग प्रमाण नहुँदा कारवाहीका लागि प्रकृया अपनाउन अपठ्यारो पर्ने गरेको विभागको भनाई छ ।
“वैदेशिक रोजगारीमा ठगीएकाहरु खासै नयाँ तरीकाले ठगीएको पाइँदैन् । विश्वासका आधारमा पैसा बुझाइदियाैं, हामीलाई रसिद प्राप्त छैन भन्ने खालका उजुरी आउने भएकाले विभागालाई कारबाही गरेर उजुरीको टुंगो लगाउन निकै चुनौति छ ।” विभागमा निर्देशक डम्बर बहादुर सुनुवार भन्छन् “खासगरी इजाजत प्राप्त संस्था तथा व्यक्तिहरुले जति रकम बुझ्नु भो त्यसको आधिकारिक रसिद उपलब्ध नगराउने, सरकारले तोकेको शुल्कभन्दा अत्याधिक बढी शुल्क लिएको र कतिपयलाई चाँही श्रम स्वीकृति लिइदिन्छु, यस्तो काम लगाइदिन्छु भन्दै प्रलोभनमा पार्ने र श्रम गन्तब्यसम्म नपुर्याउने गरेको पाइएको छ ।”
चालु आवको प्रथम चौमासिकमा विभागबाट १ लाख ५६ हजार ५७ जनाले रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । जसमा संस्थागत तथा व्यक्तिगत नयाँ र वैधानीकरणबाट ९६ हजार ३३४ जनाले र ५९ हजार ७२३ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।
रोजगारीमा ठगिनेमध्ये आधा मुद्दा पनि पुग्दैन अदालतमा
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा अघिल्लो आवको तुलनामा वैदेशिक रोजगारीका नाममा हुने ठगी करिब तीन गुणाले बढेपनि अदालतमा पुग्ने मुद्दा भने संख्या भने ज्यादै न्यून छ ।
पछिल्लो चार महिनामा विभागमा कुल १९७ वटा उजुरी परेकोमा २५ वटा मात्र मुद्धा मात्र अदालतमा पुगेका छन् । यो संख्याबाट ५ करोड १३ लाख ७३ हजार १८७ रुपैयाँ माग दाबी गरिएको छ । अघिल्लो वर्ष विभागमा उजुरी परेका ६६ मध्ये २९ उजुरीबाट ४३ लाख ४४ हजार ६०० माग दाबी गर्दै मात्र अदालतमा दायर भएको विभागले जनाएको छ ।
विभागका निर्देशक डम्बर बहादुर सुनुवारका अनुसार विभागमा आउने उजुरीको प्रकृति अनुसार सरकारी वकिलको कार्यालय मार्फत अदालती प्रकृयामा जाने गरेको छ । धेरै उजुरी ठगी प्रकृतिका हुने र त्यस्तो ठगीको सबुत प्रमाण पीडितसँग नहुँदा कारवाहीका लागि प्रकया अगाडि बढाउन नै कठिनाई हुने गरेको उनी बताउँछन् ।
रोजगारीका लागि आकर्षक मुलुकमा जान पाइने आशामा धेरैले रसिद बिना नै शुल्क बुझाउने गरेका छन् । यसले पनि यसरी ठगीएका पीडितलाई प्रमाण नहुँदा न्याय दिन पनि उत्तिकै मुस्किल पर्ने गरेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार एजेन्ट तथा म्यानपावर व्यवसायीले विभिन्न बहानामा कामदार ठग्ने गरेका छन् । राहदानी लिएदेखि विदेश पठाउँदासम्म ठाउँठाउँमा नेपाली ठगिन्छन् । वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक दर्जनभन्दा बढी युवा ठगिने गरेका छन् ।
वैदेशिक रोजगार ऐन २०६४ अनुसार पीडितले हुलाक वा विद्युतीय माध्यमबाट उजुरी दिन सक्छन् । आफ्नै जिल्लाबाट समेत वैदेशिक रोजगारीका उजुरी दर्ता गर्न र फरफारक समेत गर्न सकिने व्यवस्था गरिएको छ ।
विभागमा खाडी र मलेसिया जाने कामदारभन्दा अमेरिका, पोर्चुगाल, पोल्यान्ड जस्ता देश पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको संख्या बढी छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको विभागले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया