अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्योग चल्ने ग्यारेन्टी सरकारले गर्ने भन्दै अटो व्यवसायीहरुलाई नेपालमै गाडी उत्पादन गर्न आग्रह गरेका छन् ।
नाडा अटोमोवाइल्स एशोसिएशनको ४५ औं वार्षिक साधारण सभाको बुधबार उद्घाटन गर्दै मन्त्री शर्माले सरकारले विद्युतमा दिने सहुलियत, जग्गा उपलब्ध गराउन, श्रम गर्दा निरन्तर फ्याक्ट्री चल्ने ग्यारेन्टी लगायतका अन्य सुविधा सरकारको तर्फबाट उपलब्ध गराउन सकिने बताए ।
“म नाडाको भुमिका बदलियोस् भन्ने चाहन्छु । यहाँको २५ प्रतिशत योगदानलाई घटाउन चाहन्छु, यहाँहरुको सहमति छ वा छैन थाहा छैन । प्रत्यक्षतर्फको २५ प्रतिशत योगदान घटाएर फरक ढंगले ५० प्रतिशत योगदान सिर्जना गरिन्छ । यदि यहाँहरुको सहयोग भयो भने” मन्त्री शर्माले भने, “आजको दुनियाँमा प्रविधि जहाँ पनि उपलब्ध छ । प्राविधिकहरु जहाँ पनि उपलब्ध छन् । श्रम हामीसँग उपलब्ध छ । जमीन हामीसँग उपलब्ध छ । र बजार हामीसँग उपलब्ध छ भने यहाँहरुले नेपालमै म्यानिफ्याक्चर गर्ने काम प्रारम्भ किन नगर्ने ”
.jpg)
नेपालमै गाडी उद्योग स्थापना नभईकन देशको विकास हुन नसक्ने उनका भनाई छ । देश सम्पन्न र आत्मनिर्भर नभइ जनताले सेवा सुविधा नपाउने उनले बताए । उनले यहाँको व्यापार व्यवसाय अगाडि नबढाइ पनि केही नहुने बताए ।
आफु अर्थशास्त्र जानेको मान्छे भएपनि आफुलाई देशलाई समृद्ध र आत्मनिर्भर कसरी बनाउने भन्नेचाँही थाहा भएको उनले बताए । विद्युतीय गाडीका लागी चार्जिङ स्टेसनको समस्या रहेको बताउँदै उनले अब सबै पेट्रोल पम्पहरु (फ्यूल स्टेसन) लाई विद्युतीय चार्जिङ स्टेसनको रुपमा परिमार्जन हुनुपर्ने आवश्यकता औंल्याए ।
अहिले आयातमा प्रतिबन्ध लाग्छ कि भन्ने त्रास छ । विभिन्न राष्टिय तथा अन्तर्राष्ट्रियमा कानुनले पनि प्रतिबन्ध लगाउन सम्भव नरहेको भन्दै उनले आफुले स्वदेशी उत्पादनलाई प्रतिष्पर्धी बनाउने नीति ल्याउने बताए । आमजनताले न्यूनतम सेवा सुविधा पाउनुपर्ने भन्दै उनले न्यूनतम सुविधामा समानता हुनुपर्ने बताए । न्यूनतम सुविधा सबैले प्राप्त गरिसकेकपछि प्रतिष्पर्धा अझैं उचाइमा पुर्याउन सकिने उनको धारणा छ ।
कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण दुलालले अटो क्षेत्र राजस्वको सबैभन्दा धेरै योगदान दिने क्षेत्र रहेको बताउँदै सरकारले अटो क्षेत्रलाई निरूत्साहन गर्न नहुने बताए ।
नेपाल उद्योग वाणिज्य महासंका उपाध्यक्ष चन्द्र ढकालले महासंघ अन्तर्गत सबैभन्दा बढी राजश्वको हिस्सा बोकेको क्षेत्र नाडा भएको बताए ।
नाडाको ४५ औँ साधारण सभाले बिहीबार नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा वर्तमान उपाध्यक्ष करण चौधरी र पूर्व उपाध्यक्ष ध्रुव थापाबीच प्रतिस्पर्धा हुँदैछ । नेतृत्वको लागि बिहीबार बिहानदेखि निर्वाचन हुने कार्य तालिमा छ ।











प्रतिक्रिया