एसएमईजका उत्पादनहरूलाई दराजको अनलाइन सपिङ मार्फत बिक्री वितरण गरिने

0
Shares

एसएमईजका उत्पादनहरूले दराजको अनलाइन सपिङ मार्फत निःशुल्क सेवा पाउने भएका छन् । यसका लागि निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपालको अग्रणी अनलाइन बजार दराज नेपालसँग सहकार्य गरेको छ ।

महासंघ र दराज नेपाल बीच साना तथा मझौला उद्योग (एफएमईज) का उत्पादनहरूलाई राष्ट्रिय/अन्तर्राष्ट्रिय ग्राहकसम्ममा सहजरूपमा पुर्याउने कार्यलाई अगाडि बढाउने सम्बन्धमा बिहीबार महासंघ सचिवालयमा सम्झौतापत्रमा हस्ताक्षर भएको हाे । सम्झौतापत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङ ले हस्ताक्षर गरेका छन् ।

यो सम्झौताले महासंघसँग जोडिएका साना तथा मझौला उद्यमीहरूलाई दराजको अनलाइन सपिङमा एकिकृत गरी उनीहरूका उत्पादनलाई दराज मार्फत बिक्री वितरणमा सहयोग गर्नेछ ।  एफएनसीसीआई र दराज बीचको सम्झौता अनुसार दर्ता भएका साना तथा मझौला उद्योग (एसएमईज) ले एक वर्षको लागि दराजको अनलाईन सपिङमा निःशुल्क डिस्प्लेको सुविधा पाउनुको साथै त्यसका लागि आवश्यक प्रचार, दृश्यतासँगै थप सुविधाहरू समेत पाउनेछन् ।

त्यसैगरी सम्झौता अनुसार साना तथा मझौला उद्योगहरूलाई आफ्नो अनलाइन व्यापार वृद्धि गर्नको लागि सही शिक्षा र सीपहरू दराजले प्रदान गर्नेछ । कोभिड १९ प्रकोपदेखि दराजले विशेषगरी एसएमईहरूलाई महामारीको आर्थिक प्रभावबाट पुनरूत्थान गर्ने कार्यमा सहयोग गर्न विभिन्न बिक्रेता केन्द्रित पहलहरूको समेत सुरुवात गरेको छ ।

एफएनसीसीआई र दराज बीचको यो सम्झौताको मुख्य उद्देश्य नेपालका हरेक कुनामा एसएमईज विक्रेता तथा ग्राहकहरूलाई एकै ठाउँमा लिएर आउने र सँगसँगै नेपालमा डिजिटलाइजेसन र ईकमर्स क्षेत्रको वृद्धिलाई तीव्रता दिनु रहेको छ ।

हाल दराजले काठमाडौं, पोखरा, विराटनगर, भरतपर, वीरगन्ज, जनकपुर, बुटवल, धनगढी र बिर्तामोडका १२ हजारभन्दा बढी बिक्रेतालाई सेवा प्रदान गरिरहेको छ । या बिक्रेताहरूले नेपालका ४७ भन्दा बढी सहरमा आफना उत्पादन तथा सेवा प्रदान गरिरहेका छन् ।

सम्झौता अनुसार विशेष रूपमा तयार गरिएका अभियानहरू मार्फत थप प्रचारहरू र दृश्यता प्राप्त गर्ने, जनवरी २०२२ देखि डिसेम्बर २०२२ सम्म एसएमईजको लागि कुनै शुल्क नलाग्ने, व्यापक ई(कमर्स प्रशिक्षण तथा शिक्षा दिने र दर्ता र अनलाइन पसल स्थापनामा दराजले सहयोग गर्नेछ भने महासंघले आफनो नेटवर्क मार्फत सबै एसएमइजहरूका उत्पादनलाई दराजको अनलाइन सपिङमा जोड्न पहल गर्नेछ ।

साना तथा मझौला उद्यम व्यवसाय मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार भएको र कोभिड महामारीबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएकाले महासंघले यसको पुनरूत्थानमा विशेष जोड दिँदै आएको छ ।

सम्झौता एसएमईजहरूको पुनरूत्थानमा कोशेढुंगाः महासंघ अध्यक्ष गोल्छा

हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले दराजसंगको यो सहकार्य एसएमईजहरूको पुनरूत्थानमा कोशेढुंगा हुने बताए ।

अनलाइन सपिङ प्ल्याटफर्म मार्फत साना तथा मझौला उद्यमीहरूले आफ्ना उत्पादन स्वदेशी एवं विदेशी ग्राहकसम्म प्रयाउन सकुन भन्ने उद्देश्यले महासंघले अग्रसरता लिएको उनले स्पष्ट पारे ।  दक्षिण तथा दक्षिण पूर्वी एशियामा दराजको लोकप्रियता बढ्दै गएकाले दराजको प्लाटफर्म मार्फत यो अवसरको भरपुर लाभ उठाउन पनि अध्यक्ष गोल्छाले साना उद्यमीहरूलाई आग्रह गरे ।

दराजका प्रवन्ध निर्देशक लिनो अलरिङ्गले सम्झौताबाट नेपालका अन्य क्षेत्रबाट थप बिक्रेताहरूलाई दराजमा भित्र्याउन र व्यवसायिक सफलता हासिल गर्न सहयोग गर्ने विश्वास गरिएको बताए ।

‘एसएमईज क्षेत्रलाई अझै धेरै सहयोगको खाँचो छ त्यसैले हामी नेपालभरका साना व्यवसायहरूको सशक्तिकरणका लागि काम गरिरहने छौं’ प्रबन्ध निर्देशक लिनो अलरिङ्गले स्पष्ट पारे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहिबार  १७ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।