सुन तस्करीको नौलो शैली निस्तेज बनाइदैँ, १० दिनमा ८१ किलो सुन नियन्त्रणमा

0
Shares

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउन तस्करहरुले अपनाएका नौला नौला शैलीहरु सरकारले निस्तेज पार्न थालेको छ । सुन तस्करी नियन्त्रणका सरकारले अभियान नै चलाएर कडाइ गरेपछि ठूलो मात्रामा राजश्व समेत संकलन हुन थालेको छ ।

केही समय अघि कामदार भिषामा विदेश गएकी एक महिला नेपाल फर्किइन् । उनी विदेश गएको एक हप्तामा नै स्वदेश फर्किएकी थिइन । त्रिभुवन विमनस्थल भन्सार कार्यालयका अनुसार उनले भित्री वस्त्रमा साढे ५०० ग्राम सुन ल्याएकी थिइन् । तर अचम्मको कुरो के छ भने उनले आफु नेपाल आएको कुरा उनका श्रीमानलाई नभन्न आग्रह गरेकी थिइन् । साथै उनका श्रीमानलाई पनि श्रीमती नेपाल आउने कुरा थाहा नभएको विभागले जनाएको छ । अर्थात उनी विदेश पुगेपछि सुन तस्करको गिरोहमा संलग्न भएर भरीया बनेर नेपाल आएकी थिइन् ।

त्यसैगरी पछिल्लो समय विदेशबाट नेपाल फर्किने नेपाली कामदार भरीयाको रुपमा प्रयोग भएको पाइएको छ । विभागका अनुसार सुन तस्करीमा पक्राउ परेकामध्ये ८० प्रतिशत नेपाली भरीया हुने गरेका छन । सुन तस्करीले भरीया बनाएका व्यक्तिहरु मार्फत मात्रै मंसिर १३ गतेबाट २२ गतेसम्म विभागले ८१ किलो ५०० ग्राम सुन बरामत गरेको जानकारी दिएको छ । विभागले उक्त परिमाणको सुन १ हजार ७५५ जना यात्रुबाट बरामत गरेको हो । जसमा १ हजार ४९४ जनाले साढे ७४ केजी सुनको भन्सार तिरेर लगिसकेका छन् । जसबाट ७ करोड ८२ लाख राजस्व संकलन भएको विभागका प्रमुख भन्सार प्रशासक महेश भट्टराइले जानकारी दिए। बाँकी ७ किलो सुनको भन्सार तिर्न बाँकी नै रहेको छ । जसबाट ७० लाख रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ ।

भट्टराईका अनुसार पछिल्लो केही दिन यता भरीया बनेर सुन ल्याउने नेपालीको संख्या घट्न थालेको छ । भट्टराई भन्छन्,“सुरुका दिनमा ४०० प्यासेन्जरले सुन ल्याएका थिए । जसमा ८० प्रतिशत भरिया थिए भने २० प्रतिशतले आफ्नो प्रयोजनका लागि सुन ल्याएका थिए ।

नेपालमा औपचारीक रुपमा दैनिक २० किलो सुन आयात हुने गरेको छ । जसका लागि वाणिज्य बैंकहरुले मात्र अनुमति पाएका छन् । नेपाली बजारमा सिजनको समयमा ५० किलोग्राम र अफसिजनमा न्यूनतम ३० किलोग्राम सुनको माग हुन्छ । तरपनि बजारमा सुनको अभाव कहिले देखिदैन् । यसैबाट प्रष्ट हुन्छ ५० प्रतिशत बजारको माग अनौपचारीक रुपमा आएकै सुनबाट थेगिन्छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राजस्व तिरेर व्यक्तिले १०० ग्राम सम्म सुद्ध सुन तथा २५० ग्राम सम्मका गरगहना ल्याउन पाइन्छ । ५० ग्राम सम्मका सुनका गरगहनाको भन्सार महसुल तिर्नु पर्दैन् । त्यसभन्दा बढी २०० ग्रामको भन्सार महसुल लाग्ने गरेको छ । तोकिएको भन्दा बढी परीमाणमा सुन ल्याए विमानस्थलले कानुन बमोजिम जफत गर्ने गरेको छ ।

भट्ट्राइका अनुसार पछिल्लो १० दिनमा नियन्त्रणमा लिएको सुनमा ५० ग्राम बिना भन्सार ल्याउन पाइने व्यवस्थालाई दुरुपयोग गरेको पाइएको हो । काँचो सुनलाई गहनाको आकार दिएर तस्करी भइरहेको उनले बताए । कसैले सुनको बाला, कसैले सिक्री, कसैले औँठी र अन्य गरगहनाको आकारमा विदेशबाट फर्किएका नेपालीलाई तस्करले सुन पठाउने गरेका छन ।

“हाम्रो मनसाय राजश्व उठाउने भन्दा पनि अवैध कारोबारलाई बन्द गरौ, अनौपचारिक सुनलाई औपचारिक बनाउ भन्ने हो ।” भट्टराई भने । साथै उनले ११ दिन देखि यात्रु मार्फत नेपालमा हुने सुन आयातलाई नियमन गर्ने अभियानलाई तिब्रता दिएको पनि जानकारी दिए ।

भरीयालाई पारिश्रमिक र होटलको व्यवस्था

तस्करहरुले विदेशबाट सुन बोकेर आउने भरीयालाई विशेष पारीश्रमिक र सेवा सुविधा पनि उपलब्ध गराउने गरेको पाइएको छ । भन्सार विभागका अनुसार यसरी सुन ल्याउने भरीयाको पारीश्रमिक ५ हजार रुपैयाँ देखि ७ हजार रुपैयाँ सम्म तस्करहरुले दिने गरेको भेटिएको छ ।

५ हजार पारीश्रमीक पाउने भरीयाको होटलमा एक रात खान बस्ने व्यवस्था हुने र ७ हजार रुपैयाँ पाउनेको पारिश्रमीक मात्र हुने गरेको छ । तर यस्ता भरीयालाई सुन कसको हो, कहाँ पुर्याउनु पर्ने थाहा नहुने गरेको पनि विभागको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहिबार  १८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।