चालु आर्थिक वर्षमा उपभोक्ता मूल्य स्फीति लक्ष्य भन्दा माथि जाने भएको छ । नेपाली मुद्राको तुलनामा डलर बलियो हुँदै जानु तथा वित्तीय प्रणालीको ब्याजदर बढ्नुले आगामी दिनमा मूल्य वृद्धि झनै बढ्ने निश्चित भएको हो ।
आयातमा आधारीत अर्थतन्त्र भएकाले डलर बलीयो हुँदा मुल्य वृद्धि बढ्छ । त्यति मात्र नभई इन्धनको मूल्य समेत बढ्दै गएको हुनाले महंगीमा दबाब पर्ने पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताए । आयात उच्च दरमा बढ्नु तथा आन्तरिक उत्पादन नहुनुले पनि मूल्य वृद्धि दोहोरो अंकसम्म जान सक्ने पाण्डेको अनुमान छ।

“आयात अस्वभाविक छ, इन्धनको मूल्य पनि बढ्दो छ, त्यो संगै डलर पनि बलियो हुदै गएको छ,” उनले भने,“यसकारणले पनि आगामी दिनमा महंगी झनै बढ्ने निश्चित छ ।” कोरोना महामारीको संक्रमणमा केही कमी आएसंगै सुचारु भएको विश्व अर्थतन्त्रमै महंगी बढेको छ । छिमेकी राष्ट्र भारतमा पनि महंगी बढेको छ । त्यसले पनि हाम्रो दैनिक जिवनमा असर पु¥याउने पाण्डेले बताए ।
तर, नेपाल राष्ट्र बैंक भने उनीसंग सहमत छैन् । सरकारले चालु आर्थिक वर्षको मूल्य वृद्धि ६.५ प्रतिशत भित्र कायम राख्ने लक्ष्य लिएको छ । आगामी दिनमा महंगी केही बढेपनि सरकारले राखेको लक्ष्य भन्दा बाहिर नजाने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले बताए । “मूल्यवृद्धिमा दबाब पर्ने देखिन्छ, कात्तिक महिनामा नै ५.३ प्रतिशत पुगेको छ,” श्रेष्ठले भने,“मूल्य वृद्धि बढेपनि एकल अंकमा नै सिमित हुन्छ ।”
बजारमा माग बढेको अवस्थामा पछिल्लो समयमा देखिएको वित्तीय प्रणालीको समस्या उच्च आयातका कारण हो । उच्च आयातले शोधनान्तर स्थितीमा असर गरेपछि तरलता र कर्जा ललगानी योग्य रकमको अभाव देखिएको हो ।
बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्ष सुरु भएयता ४११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यो अवधिमा ६४ अर्ब रुपैयाँ मात्र निक्षेप थप गरेको अवस्था छ । बैंक वित्तीय संस्थाबाट कर्जा गएको पैसा आयातका लागि गएको छ । चालु आवमा बैंकहरुले प्रबाह गरेको कुल कर्जाको करिब ५० प्रतिशत आयातमा खर्च भएको राष्ट्र बैंकको अनुमान छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया