सरकारले विद्युत उपभोग बढाउन विद्युतीय चुल्हो प्रयोगमा जोड दिन थालेपछि नेपाली बजारमा विद्युतीय चुल्होको माग बढ्न थालेको छ । बजारमा चुल्होको माग बढ्न थालेपछि विभन्न कम्पनीहरुले करिब दर्जन ब्रान्डका विद्युतीय चुल्होहरु आयात भएका छन् ।
यतिबेला बजारमा भारत र चीनबाट आयात भएका विद्युतीय चुल्होहरु छ्याप छ्याप्ती पाइन्छन् । भन्सार विभागका अनुसार अहिले नेपाली बजारमा बाल्ट्रा, यसुदा, सोभन, अम्रित, फिलिप्स, सनसाइन, ओमेगा, प्रिस्टिज, डाइमण्ड लगायत ब्राण्डका चुल्होहरु धेरै मात्रामा आयात हुने गरेका छन् ।

नेपालमा विशेषगरी २०७२ सालमा भारतले अघोषित नाकबन्दी लगाए पश्चात विद्युतीय चुलोको माग बढ्न थालेको हो । नाकाबन्दीका कारण ग्यास आपूर्ति असहज भएपछि उपभोक्ता पनि विद्युतीय चुल्होतर्फ आर्कर्षित भएका थिए । यतिबेला पनि विजुलीको उपलब्धता बढेसँगै महसुल दर घटेको र ग्यासको भाउ समेत बढेपछि विद्युतीय चुल्होको माग र प्रयोग बढ्न थालेको हो ।
नेपाल इलेक्ट्रिक व्यवसायी महासंघका महासचिव कमल पोखरेलका अनुसार अहिले बजारमा इन्डेक्सन र इन्फ्रारेड गरी दुई किसिमका विद्युतीय चुल्होहरु उपभोक्ताको रोजाईमा पर्ने गरेका छन् । साथै आयातकर्ताले पनि यिनै चुल्होहरु ल्याउने गरेका छन ।
छैन विद्युतीय चुलोको गुणस्तर मापन
अहिले बजारमा विभिन्न ब्राण्डका करिब दर्जन बढी प्रकारका विद्युतीय चुलो पाइन्छ । नेपालमा सबैभन्दा बढी विद्युतीय चुलो चीनबाट आउने गरेको छ । बाँकी भारतबाट पनि आउँछ । तर आयात हुने विद्युतीय चुलोको गुणस्तर जाँच नहुने गरेको महासचिव पोखरेलले बताए । “नेपाल गुणस्तर तथा नाप तौल विभागले अन्य सामाग्रीमा जस्तै विद्युतीय चुलोको गुणस्तर निर्धारण गर्ने गरेको छैन् । उपभोक्ता तथा व्यवसायीहरुले समते गुणस्तर मापनको माग गरेपछि विभागले गुणस्तर मापन गर्ने प्रकृया तयार गरिरहेको छ ।” महासचिव पोखरेल भन्छन्, “हाम्रो चार पाँच चरणको छलफल पश्चात यसको गुणस्तर निर्धारण हुने एउटा मापदण्ड बन्दै छ । ”
मापदण्ड तयार गइसकेपछि सोही मापदण्डका आधारमा विद्युतीय चुलो आयात हुनुका साथै पछि नेपालमा उद्योग खुल्दा पनि सोही मापदण्ड पालना गर्नुपर्ने पोखरेलको भनाई छ । यसरी जथाभावी आयात हुने चुल्होको निश्चित गुणस्तर मापन नहुँदा उपभोक्ता ठगीने प्रवल सम्भावना रहेको उपभोक्तावादीहरुले बताउँदै आएका छन ।
नेपालमा उत्पादन भएको विद्युत खपत बढ्दा इन्धनमा बाहिर जाने ठूलो रकम बचत हुने, भारतसंगको व्यापार घाटा कम हुने जस्ता कारणले पनि सरकारले विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ । जसले गर्दा विद्युतीय सामाग्रीहरुको व्यापार गर्ने व्यवसायी समेत उत्साहित भएको पोखरेलको भनाई छ।
साथै नेपाल गुणस्तर तथा नापतौल विभागले पनि कम्पलसरी गुणस्तर मापन नहुने जानकारी दिएको छ । विभागका निर्देशक उदय कुमार गुप्ता भन्छन्,“इन्डक्सनका लागि स्ट्याण्डर बनेको छ, इन्फ्रारेडको बन्दैछ ।” उनी भन्छन्“इन्डक्सन चुलोको स्ट्याण्डर बनेपनि कम्पलसरी छैन्, कम्पलसरी नभएको अवस्थामा कम गुणस्तरको इन्डक्सन चुलो बिक्री भइरहेको छ भने पनि त्यहाँ कारबाही गर्न मिल्दैन् ।”
उर्जामन्त्री पम्फा भुसालले डलर साटेर आइसीले खरिद गरेको ग्यास विस्थापित गर्दै विद्युतीय चुलोको प्रयोगमा जोड दिन आग्रह गर्दै आएकी छन । मन्त्री भुषालको नारा नै छ “एक वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔँ, विद्युतीय चुलो प्रयोग गरौँ । डलर साटेर आइसीले खरिद गरेको ग्यास विस्थापित गरौँ ।”
अहिले बजारमा विभिन्न ब्रान्डका विद्युतिय चुलोहरु उपलब्ध रहेका छन् । ग्राहकले आफ्नो क्रय क्षमता अनुसार न्यून मूल्य देखि उच्च मूल्य खर्च गरेर विद्युतीय चुलो खरिद गर्न सक्छन् । अनलाइन बिक्रेता दराजमा कायम गरिएको मूल्य अनुसार नेपाली बजारमा न्यूनतम १ हजार १८० रुपैयाँ देखि ११ हजार ५०० सम्मका विद्युतिय चुलो पाइन्छ ।
उक्त अनलाइनले १ हजार ८०० रुपैयाँ, ३ हजार, ५ हजार देखि ११ हजार ५०० रुपैयाँ सम्मका विद्युतिय चुलो बिक्री गर्दै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया