शेयर बजारको समस्या समाधानका लागि अर्थ मन्त्रालय गम्भीर छ: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन ।

सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले शेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने भन्दै त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताए । उनले मन्त्रालयले बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाही समेत गरिसकेको भन्दै मन्त्रालयले गर्नुपर्ने कार्य गरिरहेको स्पष्ट पारे ।

शेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेको समेत उनले जानकारी दिए ।

लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताए । यसमा लगानीकर्तालाई ढुक्क हुन समेत आश्वस्त पारे । अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै उनले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरे ।

‘तपाईँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला’, मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने/बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ ।’

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ मंसिर २०७८, सोमबार  १३ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।