
उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारी निकाय तथा व्यक्तिहरुलाई स्वदेशी हस्तकलाका वस्तु तथा उत्पादनहरुको प्रयोग गर्न आग्रह गरेका छन् ।
नेपाल हस्तकला महासंघकोे ५० औं स्वर्ण वर्ष प्रवेश तथा हस्तकला वर्ष २०७८ वर्ष समापनको एक कार्यक्रममा उपराष्ट्रपतिले नेपालका हस्तकलाका उत्पादन निकै गुणस्तरीय भएकाले देशभित्रको उत्पादनलाई माया गरेर प्रवर्दन र विकास गर्ने कुरामा जोड दिए । हस्तकला नेपालको मौलिक चिनारी, कला रहेको उनको भनाई छ ।
देशमा बढ्दै गएको व्यापार घाटालाई सन्तुलनमा राख्ने क्षेत्रको हस्तकला व्यवसाय रहेको बताउँदै उनले भने, “हस्तकला हाम्रो देशको व्यापार घाटालाई सन्तुलन राख्ने प्रमुख क्षेत्र हो र हस्तकला व्यवसाय लाखौं लाख नेपालीको रोजगारीको क्षेत्र पनि हो ।”
कार्यक्रममा बोल्दै पुनले हस्तकला व्यवसाय गरिबी नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याइरहेको क्षेत्र, जनताको प्राथमिकताको क्षेत्र, देशको मौलिक पनको चिनारी समेत रहेको बताए । साथै उनले विश्वमा हस्तकला सामाग्रीले नेपालको पहिचानलाई उच्च पार्ने काम पनि हस्तकला व्यवसायले गरिरहेको बताए ।
उनले हस्तकला सम्बन्धी कच्चा पदार्थको अभाव, नीतिगत कुनै व्यवस्था नभएका कारण निजी क्षेत्र स्वयं जसो तसो गरेर व्यवसाय चलाउन बाध्य रहेको बताए । तीन तहको सरकार बनिसक्दा पनि हस्तकला व्यवसायलाई हेर्ने सरकारी निकाय नभएको उनको भनाई थियो ।
हस्तकला महासंघका अनुसार यस क्षेत्रमा ८ लाख जनशक्ति कार्यरत छन् । साथै विभिन्न देशमा वार्षिक १० अर्बसम्म हस्तकला सामाग्री निर्यात हुने गरेको छ । नेपालमा बनेका हस्तकला सामाग्री विश्वका ८० देशमा निर्यात हुन्छन् । कोभिड १९ संक्रमणको समयमा पनि अन्तर्राष्ट्रिय बजारमा ६ अर्ब रुपैयाँ बराबरको हस्तकला सामाग्री निर्यात भएको र सोही अनुपातमा स्वदेशी बजारमा व्यापार भई १२ अर्ब रुपैयाँको कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै कार्यक्रममा महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले देशमा भएको व्यापार घाटा, रोजगारीको अवसर साथै देशमा मौलिक पहिचान जोगाउँदै आएको हस्तकला व्यवसायलाई सरकारले कुनैपनि प्राथामिकतामा नराखेको जिकिर गरे ।
महासंघले स्वर्ण वर्ष प्रवेश तथा १० औं हस्तकला दिवसको अवसरमा हस्तकला क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको छ । महासंघले सदस्यतर्फ उत्कृष्ट निकासीकर्तालाई सुनको तक्मा सहित प्रथम स्थानमा एभरेष्ट फेसनका सञ्चालक महेश्वर श्रेष्ठलाई सम्मान गरेको हो ।
त्यसैगरी द्धितीय श्री फेल्ट एण्ड यार्नका सञ्चालक सुनिता शेर्पा र तृतिय भएका बागमती आर्टस् एण्ड ह्यान्डी क्राफ्टका सञ्चालक नरेशलाल श्रेष्ठलाई सुनको तक्मा र ट्रफी सहित सम्मान गरेको छ ।
गैर निकासीकर्ताका रुपमा नेशनल एक्सपोर्टका सञ्चालक चन्द्र बहादुर थापा र उत्कृष्ठ उद्यमी कृष्ण कटेजका कल्याण कृष्ण ताम्राकारलाई चाँदीको प्लेट सहित सम्मान प्रदान गरिएको छ । साथै दीर्घ सेवाका रुपमा कार्यरत महासंघका निर्देशक ऋषी राज सुवेदी लगायतका व्यक्तिहरुलाई पनि सम्मान प्रदान गरिएको छ ।
उपराष्ट्रपति पुनले महासंघको स्वर्ण वर्षको शुभारम्भ पत्रमा हस्ताक्षर गरेर सुवर्ण वर्षको शुभारम्भ र स्मारिका विमोचन गरेका थिए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया