पाँच महिनामा साढे ६ प्रतिशत विकास खर्च, दाताले पनि पत्याएनन्

0
Shares

सरकारले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा साढे ६ प्रतिशत पनि विकास खर्च गर्न सकेको छैन । अर्थमन्त्री जनार्दशन शर्माले मासिक १० प्रतिशतका दरले विकास खर्च गर्ने घोषणा गरेको भएपनि विकास खर्च हुन नसक्ने पुरानै थिति दोहोरिएको छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु वर्षको ५ महिनामा अर्थात मंसिरसम्ममा २८ अर्ब ६३ करोड ६७ लाख मात्रै विकास खर्च भएको छ। जुन चालु आवको लक्ष्यको ६.५१ प्रतिशत मात्र हो । चालु आवमा सरकारले ४ खर्ब ३९ अर्ब ६५ करोड ९ लाख रुपैयाँ विकास खर्च गर्ने लक्ष्य राखको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको १० महिनामा बजेट खर्च गर्ने गरि संयन्त्र बनाएर अघि बढ्ने घोषणा गरेका थिए । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना नै गरेर मन्त्री शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले बजेट खर्च गर्ने गरी संयन्त्र बनाउने बताएका थिए । तर, मन्त्री शर्माले भने जस्तो बजेट खर्च भने हुन सकेको छैन ।

सरकारले चालु शिर्षकमा भने ३ खर्ब १९ अर्ब ११ करोड १४ लाख खर्च गरिसकेको छ। जुन लक्ष्यको ३१.७९ प्रतिशत हो । सरकारले चालु आवमा चालुतर्फ १० खर्ब ३ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ । यसअवधिमा वित्तीय व्यवस्थापनतर्फको बजेट पनि लक्ष्यको २१.८ प्रतिशत खर्च भइसकेको छ ।

पूँजीगत खर्चमा कमजोर देखिए पनि सरकारको राजश्व संकलन भने सन्तोषजनक छ । पाँच महिनाको अवधिमा सरकारले लक्ष्यको ३५.९५ प्रतिशत राजश्व संकलन गरिसकेको छ । यसअवधिमा ४ खर्ब ४५ अर्ब ९७ करोड राजश्व संकलन गरेको छ । पाँच महिनाको अवधिमा सरकारले कुल ३ खर्ब ८९ अर्ब ५ करोड बजेट खर्च गरेको छ।

दाताले पत्याएनन्, वैदेशिक अनुदान शून्य

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा नेपालमा वैदेशिक अनुदान शून्य देखिएको छ । सरकारले चालु आवमा वैदेशिक अनुदानबाट ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकोमा अहिलेसम्म कुनै अनुदान प्राप्त भएको छैन ।

गत आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६० अर्ब ५२ करोड रुपैयाँ अनुदान पाउने लक्ष्य राखेकोमा २० अर्ब ५६ करोड मात्र अनुदान प्राप्त गरेको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार  १२ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।