बजारमा चिनीको मूल्य उच्च, सहुलियत स्वीकृती नहुँदा साल्ट ट्रेडिङ्गले ल्याएन

0
Shares

नेपाली बजारमा चिनीको मूल्य उच्च भएकोे छ । चिनीको अभावको कारण देखाउँदै बजारमा चिनीको मूल्य बढेको व्यापारीहरुले बताएका छन् ।
यस वर्ष साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले समयमै चिनी आयात नगर्दा उपभोक्ता मर्कामा परेका छन् । साल्ट ट्रेडिङले चिनी उपलब्ध गराउन नसकेपछि उपभोक्ताले चिनी प्रतिकिलो ११० रुपैयाँ सम्ममा किन्न बाध्य भएका छन् ।

सरकारी स्वामित्वको संस्था अर्थात साल्ट ट्रेडिङको बिक्री कक्षमा पुगेका उपभोक्तालाई चिनी प्रतिकेजी ७९ रुपैयाँका दरले बिक्री गर्दै आइरहेको छ । जुन मूल्यमा काठमाण्डौको कालिमाटी आसपास बस्ने उपभोक्ताले मात्र लाभा पाएका छन् । तर काठमाण्डौ कै अन्य ठाउँमा चिनी प्रतिकिलो न्यूनतम १०० रुपैयाँ देखि ११० रुपैयाँ सम्म बिक्री भइरहेको छ । जुन मूल्य कर्पोरेसनको तुलनामा प्रतिकिलो ३१ रुपैयाँ बढी हो ।

नेपाल खुद्रा व्यापार संघले चिनीको मूल्य प्रतिकेजी ९५ रुपैयाँ कायम गरेको छ । जुन साल्ट ट्रेडिङले बिक्री गरेको मूल्य भन्दा प्रतिकिलो १६ रुपैयाँले बढी हो । माग अनुसारको आपूर्ति नहुनु तथा बजार अनुगमन प्रभावकारी नहुँदा व्यापारीले आफू खुशी चिनीको मूल्य निर्धारण गरेको पाइएको छ ।

कर्पोरेशनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार अहिले साल्ट ट्रेडिङ्ग सँग १५० टनको हाराहारीमा चिनी स्टक रहेको छ । साल्ट ट्रेडिङ्गले बाँकी रहेको उक्त परिमाणको स्टकमा रहेको चिनी बिक्री कक्षमा आउने उपभोक्तालाई दुई केजीका दरले बिक्री गर्दै आइरहेको जनाएको छ । साथै ६।७ महिनाबाट डिलरहरुलाई चिनी नदिएको भण्डारीले बताए ।

“हामीलाई गत वर्ष सरकारले २० हजार टन चिनी सहुलियत दिएको थियो, त्यही नै चिनी हो, त्यसभन्दा पछि ल्याएको छैनौं ।” भण्डारी भन्छन्“ यो पाली विभिन्न प्रयासमा पनि नेपाल सरकारबाट सहुलियतमा आयात गर्न स्वीकृत नपाएको हुनाले हामीले आयात गरेनौं ।”

भण्डारीका अनुसार कर्पोरेशनले ३० हजार टन र गत वर्षको उत्पादनका आधारमा मन्त्रालयले नै २० हजार टन थप्नुपर्छ भनेपछि ५० हजार टनको स्वीकृतका लागि अर्थमन्त्रालय पठाएको छ । तर अहिलेसम्म पनि सरकारले सहुलियमा स्वीकृति नदिँदा चिनी आयत नभएको उनले बताए ।  उपभोक्तामा सरकारी संस्थाले नै बढी मूल्यमा चिनी बिक्री गरेको आरोप लाग्ने भएकाले साल्ट ट्रेडिङ्गले सरकारको स्वीकृत नपाई चिनी आयात नगरेको जनाएको छ । “भन्सार सहुलियतको लागि हामी अर्थमन्त्रालय बारम्बार धाइरहेका छौँ तर अहिलेसम्म स्वीकृत भइसकेको छैन् प्रकृयामै होला ।” सूचना अधिकारी भण्डारीले भने ।

कर्पोरेशनका अनुसार गत वर्ष नेपालमा १ लाख ५ हजार मेट्रिक टन चिनी उत्पादन भएको छ । तर चिनीको वार्षिक माग २ लाख ५० हजार मेट्रिक टन हाराहारी रहेको छ ।

कर्पोरेशनका अनुसार नेपालमा कुनै समय १ लाख ७० हजार टन सम्म चिनी उत्पादन भएको थियो । जुन गत वर्षको तुलनामा ७० टनले बढी हो । तर उखु उत्पादन गर्ने किसानले समयमा भुक्तानी नपाउने, भुक्तानीकै लागि आन्दोलन गर्नुपर्ने लगायतका समस्याहरु भोग्नु परेपछि चिनी उत्पादनमा ह्रास आएको छ । समयमै उखुको भुक्तानी नपाउने समस्या दोहोरिरहदा कतिपय किसान उखु खेति छाडेर तरकारी खेतीतिर लागेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।