सनराइज बैंकले सहकारीका ग्राहकलाई पनि डेबिट कार्ड उपलब्ध गराउने

0
Shares

सनराइज बैंक (SRBL) ले सहकारी संस्थाका ग्राहकका लागि पनि बैंककै जस्तो डेबिट कार्ड उपलब्ध गराउने भएको छ ।

बैंकले भिषा ब्रान्डअन्तर्गत सहकारी संस्थाका ग्राहकका लागि ‘को–ब्रान्ड’ जारी गरेको कार्डको बुधबार औपचारिक रुपमा शुभारम्भ गरेको छ । कार्ड जारी गर्न बैंकले पहिलो चरणमा विभिन्न चार सहकारी संस्थासँग सम्झौता गरेको र चालु आर्थिक वर्षभित्र थप २५ सहकारीमा विस्तार गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ ।

बैंकले उक्त सेवाका लागि कोसिस सफ्टवेयर, आइमार्क प्रालि र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग सहकार्य गरेको छ । बैंकले को–ब्रान्ड कार्ड जारी गर्न भिषा इन्टरनेसनलबाट सहमति लिइसकेको जनाएको छ ।  बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्दै नेपाल सरकारको उद्देश्य अनुरुप तथा नेपाल राष्ट्र बैंकको प्राथमिकता बमोजिम डिजिटल भुक्तानीको क्षेत्रमा थप सेवा विस्तार गरी डिजिटल बैंकिङ्गमा बढि भन्दा बढि सर्वसाधारणको पहुँच पु¥याउने उद्देश्य अनुसार अगाडि बढाइएको बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले विद्युतीय भुक्तानीलाई जोड दिँदै सहकारी संस्थाहरुलाई समेत लक्षित गरि चालु मौद्रिक नीतिमा सहकारीका ग्राहक समक्ष समेत विद्युतीय भुक्तानी सेवा र्पुयाउन प्रोत्साहन गर्ने उल्लेख थियो । मौद्रिक नीतिको सोही कार्यक्रमानुसार नै बैंकले सहकारीका लागि भिसा को–ब्रान्ड डेबिट कार्ड जारी गरेको जनाएको छ । यो कार्ड नेपालका साथै भारत र भुटानमा पनि प्रयोग गर्ने सकिने जनाइएको छ ।

यसरी जारी हुने कार्ड मार्फत हुने कारोबारका लागि सनराइज बैंकले मुख्यतः सेटलमेन्ट बैंकको भूमिका निर्वाह गर्ने जनाएको छ । साथै, कार्ड जारी गर्नका लागि सम्बन्धित कार्ड स्किम (भिषा इन्टरनेसनल) सँग आवश्यक पहल गरी आइडेन्टिफिकेसन नम्बर उपलब्ध गराउने तथा कार्ड पर्सनलाइजेसन गर्ने काम बैंकले गर्ने जनाएको छ ।

यस कार्यक्रमबाट बैंकिङ्ग क्षेत्रभन्दा बाहिर रहेका सीमान्तकृत बहुुसंख्यक जनसंख्या लाभान्वित हुने हुँदा वित्तीय समावेशीतामा योगदान पुग्ने र डिजिटल कारोबारको कारणले आर्थिक पारदर्शीतामा समेत वृद्घि भई सम्पूर्ण अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले लिएको छ । यसरी जारी हुने कार्डका लागि स्वीचिङ सेवा प्रदान गर्ने कार्य नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमले गर्नेछ ।

आइमार्क प्रालि तथा पायोनियर एसोसिएट्स प्रालि (कोसिस सहकारी सफ्टवेयर) ले सम्बद्ध सहकारी संस्थाको कोर बैंकिङ सिस्टम, बैंकको कोर बैकिङ सिस्टम र स्वीचिङ सिस्टमबीच आवश्यक सञ्चार समन्वय गर्ने संरचना तयार गर्ने तथा कारोबार रोटिङ, कार्ड जारी गर्नुपूर्व गरिने ग्राहक पहिचानका गतिविधिका लागि आवश्यक प्राविधिक सेवा प्रदान जनाएको छ ।

यसरी जारी हुने कार्डहरू सनराइज बैंकको स्वामित्वमा रहेको बैंक आइडेन्टिफिकेसन नम्बर अन्तर्गत जारी हुनेछ । ती कार्डहरू सम्बन्धित सहकारी संस्थामा रहेको कार्डवाहकको खातामा सोझै लिंक हुनेछन् ।

आफ्ना ग्राहकहरूलाई डेबिट कार्ड जारी गर्ने सन्दर्भमा आवश्यक अन्य प्रक्रिया सम्बद्ध सहकारीले नै गर्ने र सहकारीलाई यस परियोजनामा सामेल गराउनुपूर्व सनराइज बैंकले भरपर्दो तेस्रो पक्षमार्फत सो सहकारीको डीडीए गर्नेछ । यसरी जारी हुने कार्डहरूको सुरक्षा तथा प्रयोगको हकमा हाल जारी भइरहेका डेबिट कार्डहरूभन्दा फरक नहुने गरी अन्तर्राष्ट्रिय रूपमै स्वीकार्य र प्रचलनमा रहेका सुरक्षात्मक उपाय र विशेषताहरू अनिवार्य रूपमा राखिएको बैंकले जनाएको छ । सञ्चालन जोखिम न्यूनीकरणका लागि विस्तृत सञ्चालन विधि तथा जोखिम न्यूनीकरणका उपाय तयार गरी लागु गरिसकिएको बैंकले जनाएको छ ।

भिषा ब्राण्ड अन्तर्गत सहकारी संस्थाका ग्राहकहरुलाई भिसा डेबिट कार्ड जारी गर्ने यो परियोजना समग्र दक्षिण एशिया मा नै पहिलो अभ्यास हो । अतः भुक्तानी कार्डको क्षेत्रमा यस परियोजनाले नेपाल मात्र नभई समग्र दक्षिण एशियाकै मार्गदर्शन गर्ने बैंकको विश्वास छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७८, बुधबार  १८ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।