ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफको सेयरमूल्य समायोजन

0
Shares

ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ ।

तीनवटै कम्पनीले पुस ९ गते शुक्रबार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस समायोजन गरी मूल्य निर्धारण गरिएको हो ।

नेप्सेले ज्योति विकास बैंकको ११ प्रतिशत बोनसपछि प्रतिकित्ता ४०३.१५ रुपैयाँ, एनएमबि लघुवित्तको २१.५० प्रतिशत बोनसपछि १०५३.५० रुपैयाँ र सूर्या लाइफको १२।७० प्रतिशत बोनस सेयर समायोजनपश्चात प्रतिसेयर ६३८.८६ रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार ज्योति विकास बैंकको सेयर प्रतिकित्ता ४४७.५० रुपैयाँ, एनएमबि लघुवित्तको १२८० रुपैयाँ र सूर्या लाइफको ७२० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यलाई आधार मानेर बोनससमायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

अब आइतबार तीनवटै कम्पनीको समायोजित सेयरमूल्यलाई आधार मानेर धितोपत्रको दोस्रो बजार (नेप्से) मा कारोबार खुल्नेछ । नेप्सेमा प्रतिकारोबार २ प्रतिशत थपघट भएर कारोबार खुल्ने व्यवस्था छ ।

लाभांश पारित सहित अन्य एजेण्डाहरु पारित गर्न ज्योति विकास बैंक (JBBL) ले पुस २३ गते, शुक्रबार लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौंमा बिहान ११ बजे १४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, एनएमबि लघुवित्त (NMBMF) ले पुस २६ गते सोमबार होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सो सभाले चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस र बोनसको कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सूर्या लाइफ (SLICL) ले पुस १९ गते होटल हरिसन प्यालेस विराटनगरमा बिहान ११ बजे १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनार्थ ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ९ पुस २०७८, शुक्रबार  ०९ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।