
काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा बुधबार बिहान वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।
चन्दागिरी, दामन, कालिन्चोक, फुलचोकी जस्ता उच्च स्थानमा पनि बिहानैदेखि हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो ।
दिउँसो पनि मौसम प्रतिकूल हुने आँकलन गरिएको छ । बिहानै वर्षा र हिमपात भएपछि चिसो झनै बढेको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ ।
बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।
अत्यधिक चिसो बढेपछि जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित
गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ ।
उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ । हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ ।
जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए । बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन् ।
चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ । नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया