उपत्यकामा अत्याधिक चिसो बढ्न थालेपछि न्यानो कपडा तथा हिटरको बिक्री बढेको छ ।
व्यापारीहरुका अनुसार चिसो बढेपछि उक्त सामाग्रीहरुको माग तथा बिक्री दोब्बर पुगेको छ । जाडो बढेसँगै सर्वसाधारणले चिसोबाट बच्नका लागि आवश्यकपर्ने लत्ता कपडा खरिद गर्न थालेपछि बिक्री तथा माग बढेको व्यापारीले बताएका छन् ।

अलेस कलेक्सनका सञ्चालक रमेश धितालका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष न्यानो कपडाको बिक्री करिब दोब्बरले बढेको हो । “पोहोर भन्दा व्यापार राम्रै छ । लगभग पोहोरको तुलनामा डबल डबल जस्तै छ ।” धितालले बताए । उनका अनुसार ज्याकेट, बाक्ला ट्रयाक, सुइटरहरुको बिक्री बढेको छ ।
यस्तै अन्य कपडाको तुलनामा ज्याकेट, मोजा, पञ्जा, टोपी, मफलर, टाउजर लगायत न्यानो कपडाको बिक्रीमा वृद्धि भएको अधिकांश कपडा व्यापारीले बताएका छन् । उनीहरुका अनुसार यस्ता कपडाको बिक्री अन्य समयको तुलनामा दोब्बर भइरहेको छ ।
त्यसैगरी अत्याधिक चिसो बढ्न थालेपछि नेपाली बजारमा स्वदेशी तथा विदेशी हिटरको बिक्री बढ्न थालेको छ । चिसोबाट बच्नका लागि उपत्यकामा हिटर प्रयोग गर्नेको संख्या पनी उत्तिकै छ । सहरी क्षेत्रमा दाउरा नपाइने तथा पाइए पनि आगो बाल्ने वातावरण नहुँदा हिटर प्रयोग गर्नेको संख्या बढ्न थालेको हो ।
अहिले नेपाली बजारमा करिब दर्जन ब्रान्डका हिटरहरु उपलब्ध रहेका छन् । पुस माघमा अत्याधिक चिसो हुने भएकाले सर्वसाधरणले घर तथा अफिसमा शरिर न्यानो बनाउनका लागि हिटरको प्रयोग गर्ने गरेका छन् ।
नेपाली बजारमा बाल्ट्रा, सिजी, वेगा, इलेक्ट्रोम्याक्स, हिमस्टार, लक्की, ओर्लपुल लगायत दर्जनौं ब्रान्डका हिटर उपलब्ध रहेका छन् । यी कम्पनीका हिटरहरु ९ सय रुपैयाँ देखि १५ हजार रुपैयाँ सम्म उपलब्ध रहेको व्यापारीहरु बताउँछन ।
सुरेश भाडा पसल नयाँ बानेश्वरका संचालक सुसान्त श्रेष्ठ भन्छन्,“पोहोरको भन्दा यो वर्ष जाडो भएकाले लगभग ५० प्रतिशत बढी हिटरको बिक्री भइरहेको छ । अहिले एउटा मात्र भन्दा पनि लगभग ३ वटा डिलरसँग चाहीँ हिटर मगाइरहनु परेको छ ।”
साथै उनले अन्य विद्युतीय सामाग्री पानी तताउने जग, इन्डक्सन तथा इन्फ्रारेड चुह्लो, गिजरको तुलनामा हिटर र पानी तताउन प्रयोग गरिने रडको माग तथा बिक्री पनि बढेको बताए ।
त्यसैगरी केही दिन यता झ्याप्प झ्याप्प विजुली बत्ति जाँदा हिटर बेच्न नपाएको न्यू डिलाइट इलेक्ट्रिक मार्केटिङका सञ्चालक सुबोध मैनालीले बताएका छन् । “तीन दिन भइसक्यो बिजुली बत्ति नभएर हिटर बेच्न पाएको छैन् ।” उनले भने “व्यापार हुने सिजनमा बत्ति नभएर यस्तो हालत छ यि ग्यास हिटर बेच्नु पर्या छ ।”
मैनालीले पछिल्ला केही वर्षको तुलनामा अहिले हिटरको माग बढेको नोटबजारलाई बताएका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया