बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ३ जनाले पाए ११ कित्ता

0
Shares

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मंगलबार बिहान बाँडफाँड भएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ भाग्यमानी १ लाख ६६ हजार ३४५ जनाले मात्रै सेयर पाएका छन् । जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ताका दरले तथा भाग्यमानी ३ जनाले थप १।१ कित्ताका दरले कुल ११ कित्ता सेयर प्राप्त गरेका हुन् । सेयर पाउने संख्या कुल आवेदकको ८ प्रतिशत मात्र हो । कम्पनीको आईपीओको बाँडफाँडका लागि लक्की बल नम्बर ९ र ५ छनोट भएको थियाे ।

सर्वसाधारणबाट माग भएको सेयरको तुलनामा उच्च आवेदनका कारण यो निष्काशनमा समेत २१ लाख ३ हजार ७१ जनाको भने हात खाली हुनेछ । आईपीओमा आवेदन गरेका ९२ प्रतिशतले आवेदक सेयर प्राप्त गर्न सकेनन् ।

कम्पनीले चैत्र १६ गते बुधबारबाट चैत्र २१ गते, सोमबारसम्म सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कुल जारी सेयरमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ९१ हजार ३८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडको कार्यालय, लक्ष्मण बाबु भवन, नक्साल, काठमाडौँमा मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँड भएको हो ।

सिन्धुपाल्चोकको साविकको गुम्बा र गोल्चे गाविसहरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ चैत्र २०७८, मंगलबार  ०९ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।