
साना किसान विकास लघुवित्त वित्तीय संस्था (SKBBL) को आइतबार सम्पन्न २० औं वार्षिक साधारण सभाले २६.३१ प्रतिशत लाभांश अनुमोदन गरेको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर सभाहलमा सम्पन्न भएको लघुवित्तको सभाले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बोनस पारित भएसँगै लघुवित्तको जारी र चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ पुगेको छ । लघुवित्तले साधारण सभा प्रयोजनको लागि पुस ५ गतेदेखि १८ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । यस अनुसार पुस ४ गतेसम्मका कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
कम्पनीका अध्यक्ष खेम बहादुर पाठकले आर्थिक वर्ष २०७६।७७ को अन्त्यमा कम्पनीको कुल सम्पत्ति २४ अर्ब ३८ करोड १० लाख रहेकोमा आव २०७७।७८ को अन्त्यमा ७.१३ प्रतिशतले वृद्धि भई २६ अर्ब १२ करोड पुगेको जानकारी दिए ।
यस्तै आर्थिक वर्ष २०७७।७८ मा लघुवित्तको प्रतिसेयर आम्दानी ४८.९४, प्रतिसेयर बुक नेटवर्थ २२५.२४ रुपैयाँ, निष्कृय कर्जा ०.६९ प्रतिशत, मूल्य आम्दानी अनुपात ३३.५१ गुणा र कुल पूँजी कोष १२.५८ प्रतिशत छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले साधारण सभामा उपस्थितलाई स्वागत गरेका थिए भने कम्पनी सचिव झलेन्द्र भटृाराईले कार्यक्रम सञ्चालन गरेका थिए ।











प्रतिक्रिया