कुखुराको मासु भन्दा महँगो लसुनः आठ महिनामा मूल्य दोब्बर, सात तहमा विचौलिया

0
Shares

पछिल्लो आठ महिनामा सुकेको लसुनको मूल्य झण्डै दोब्बर पुगेको छ । निरन्तर भाउ बढेपछि काठमाण्डौं उपत्यकामा लसुनको मूल्य बोइलर कुखुराको भन्दा पनि महँगो भएको छ ।

उपत्यकाका खुद्रा तरकारी बजारहरुमा अहिले सुकेको चाइनिज लसुन प्रतिकेजी ३८० रुपैयाँ सम्ममा कारोबार भइरहेको छ । यो बजारमा अहिले बिक्री भइरहेको बोइलर कुखुराको मूल्य भन्दा बढी हो ।

काठमाण्डौका अघिकांश ठाउँमा कुखुराकको मासु प्रतिकिलो ३१० रुपैयाँ देखि ३७० रुपैयाँसम्ममा बिक्री वितरण भइरहेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायीले कायम गरेको जिउँदो कुखुराको मूल्य भने प्रतिकेजी २५० रुपैयाँ छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार कालिमाटी बजारमा सुकेको चाइनिज लसुनको भाउ औषतमा ३०५ रुपैयाँ तथा नेपाली लसुनको मूल्य प्रतिकेजी औषतमा १९५ रुपैयाँ छ ।

कालीमाटी बजारमा चाइनिज लसुनको मूल्य न्यूनतम ३०० रुपैयाँदेखि अघिकतम ३१० रुपैयाँसम्म कारोबार भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । तर, खुद्रा तरकारी बजारहरुमा भने सोही लसुन प्रतिकेजी ३८० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले नेपाली लसुन न्यूनतम प्रतिकेजी १९० रुपैयाँ अधिकतम २०० रुपैयाँसम्मा खरिद बिक्री भइरहेको समितिले जनाएको छ । खुद्रा बजारमा झण्डै प्रतिकेजी २५० रुपैयाँसम्म नेपाली लसुनको कारोबार हुने गरेको छ ।

बजारमा लसुनको मूल्य बढेर आउन थालेपछि मूल्य बढाउन बाध्य भएको व्यापारीहरु बताउँछन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वैशाखको तुलनामा पुससम्म आईपुग्दा नेपाली लसुनको मूल्य प्रतिकिलो ७० रुपैयाँ र चाइनिज लसुनको भाउ प्रतिकेजी १६० रुपैयाँले बढेको हो ।

बैशाखमा कालिमाटीमा चाइनिज लसुन न्यूनतम प्रतिकिलो १४० रुपैयाँदेखि अधिकतम १५० रुपैयाँ तथा नेपाली लसुन प्रतिकिलो न्यूनतम १२० रुपैयाँदेखि अधिकतम १३० रुपैयाँसम्ममा कारोबार भएको थियो ।

समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार नेपालमा एउटा सिजनमा मात्र लसुन उत्पादन गरिने भएकाले र अन्य देशबाट आयत कम भएका कारण यतिबेला लसुनको मूल्य बढेको हो ।

तर उपभोक्ता अधिकार संरक्षण मञ्चका महासचिव विष्णु तिमल्सिनाले बजारमा तह तहमा रहेका बिचौलियाका कारण मूल्य बढेको बताउँछन् । केही समय अघि उनको संस्थाले गरेको अनुसन्धानमा सात तहमा विचौलिया पाइएका थिए । विचौलिया धेरै भएकाले पनि उत्पादकले मूल्य नपाउने र उपभोक्ता चर्को मूल्यको मारमा पर्ने गरेको उनको भनाई छ ।

मूल्य सम्बन्धी नितिगत व्यवस्था, बजारमा बिचौलियाको तह घटाउन जरुरी रहेको र लगानी बिना अनुचित नाफा लिने जो कोहीलाई पनि बजार अनुगमन गरेर कारबाहीको दायरामा ल्याए मात्र मूल्यमा अस्वभाविक वृद्धि नहुने उनको भनाई छ ।

आयात घट्यो

भन्सार विभागको तथ्यांक अनुसार लसुनको आयात चार गुणा भन्दा बढीले घटेको छ । विभागको तथ्यांक अनुसार बैशाख महिनाको तुलनामा मंसिरसम्म आइपुग्दा लसुनको आयात ठुलो परिमाणमा घटेको हो ।

बैशाख महिनामा भारत तथा चीनबाट ३८ करोड २३ लाख ४८ हजार रुपैयाँ बराबरको २९ लाख ८३ हजार ९९४ किलो लसुन आयात भएको थियो । तर मंसिर सम्म आइपुग्दा लसुनको आयात चार गुणा भन्दा बढीले घटेको छ ।

मंसिरमा विभिन्न देशबाट ९ करोड ३२ लाख २ हजार रुपैयाँ बराबरको ५ लाख ७४ हजार ७४१ किलो लसुन आयात भएको तथ्यांकले देखाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७८, बुधबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।