वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु चुनौतीः गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु चुनौती रहेको बताएका छन् ।

दिगो बैंकिङ्गका लागि वित्तीय साक्षरता भन्ने मूल नाराका साथ ‘बैंकिङ शिक्षा’ अभियानको शुभारम्भ गर्दै उनले वित्तीय साक्षरता नम्बरमा हेरेर वित्तिय साक्षरताको दर ठयाक्कै यकिन गर्न नसकिने बताए । उनले भने, ‘बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्यो संख्या हेरेर हुँदैन । वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम तथा सामग्रीहरु निर्माण भएपनि अन्य क्षेत्रको विषयमा जस्तो सामाजिक सञ्जालमा खोजेर भेटिँदैन । सञ्चारमाध्यम नै अग्रसर भएर यो अभियान सुरु हुनु खुसीको कुरा हो ।’ गभर्नर अधिकारीले भने, ‘अब बैंकिङ्ग पहुँचमा आएकालाई बुझाउनुपर्ने र बैंकिङमा आउन बाँकीलाई ल्याउनुपर्नेछ ।’

कार्यक्रममा राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले वित्तीय चेतना नहुँदा ऋण तिर्न ऋण लिनुपर्ने बाध्यता रहेको बताइन् । पैसाको सदुपयोग गर्न नजान्दा समस्या हुने गरेको भन्दै पैसाको सही परिचालनको लागि पनि वित्तीय चेतना आवश्यक रहेको बताइन् ।

बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले ‘बैंकिङ्ग शिक्षा’ कार्यक्रमले शहरमा मात्रै नभएर गाउँ–गाउँमा बैंकिङ्गबारे बुझाउन भूमिका खेल्ने बताए । वित्तीय साक्षरताका विषयमा राष्ट्र बैंक आफैले र बैंकर्स संघले समेत कार्यक्रमहरु गर्ने गरेको भन्दै यो अभियान अझ उपयोगी हुने बताए । डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेलले वित्तीय साक्षरताले सोचमा नै परिवर्तन ल्याउने बताए । अहिले सोचमा नै परिवर्तन आवश्यक रहेको भन्दै बैंकिङ्ग साक्षरता धेरै आवश्यक रहेको बताए ।

लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्माले लघुवित्तमा करिब ५४ लाख ग्राहक संख्या पुगेको र यसमा अधिकांश महिला सदस्यहरू रहेको भन्दै वित्तीय साक्षरता कतिपय अवस्थामा उनीहरुमा पनि कमी भएको भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुग्ने बताए ।

साथै कार्यक्रममा बोल्दै स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष सुमन पोखरेलले वित्तीय साक्षरतालाई प्रविधिसँग जोडेर लैजानुपर्ने बताए । रेमिटर्स एसोसिएसनका अध्यक्ष चन्द्र टण्डनले विदेशबाट आएको रेमिटान्समात्रै समेत सही सदुपयोग हुन नसकेको बताए । रेमिट्यान्स पठाउनेले पाउने सुविधाका विषयमा समेत धेरैलाई जानकारी नहुने भन्दै बैंकिङ्ग शिक्षा कार्यक्रमले यसमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले फाइनान्स कम्पनीहरुलाई फाइनान्स कम्पनी भनेर नामको पछाडि ‘बैंक’ लेख्न दिन माग गरे ।

साथै बैंकर मनोज ज्ञवालीले पैसाको सही परिचालन गर्न नसक्दा समस्या हुने गरेको बताए । समृद्धि भनेको कुरा किताबमा लेखेर वा भाषण गरेर नहुने भन्दै समृद्धिका लागि बैंकिङ्ग शिक्षा चाहिने उनले बताए । ऋणको सही सदुपयोग नहुँदा समेत समस्या हुने गरेको भन्दै उनले उद्योगी व्यापारीलाई पनि वित्तीय साक्षरताको ज्ञान हुनुपर्ने उनको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्दै सञ्चारविद्ध चेतन अधिकारीले सामान्यभन्दा पनि सामान्य बैंकिङ्ग प्रोडक्टहरु जस्तै मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, एटीएमको प्रयोग, थुप्रै प्रकारका बचतहरु र त्यसबाट पाइने ब्याज लगायतका विषयहरुमा पनि आवश्यक ज्ञान सानैबाट सिकाइनुपर्नेमा जोड दिए ।

हिमालय टेलिभिजन एचडी र अनलाइनखबरको संयुक्त प्रस्तुतिमा बैंकिङ्ग शिक्षा अन्तर्गत साताको एक दिन वित्तीय साक्षरता सम्बन्धी गतिविधि समेटिएको टेलिभिजन कार्यक्रम, टेलिफिल्म, वित्तीय साक्षरता ज्ञान शृङ्खला, विज्ञसँग वित्तीय बहस जस्ता कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रममा सामान्य भन्दा पनि सामान्य बैंकिङ्ग सेवाहरुका विषयमा जानकारी दिनेछ ।

कार्यक्रममा ‘बैंकिङ्ग वित्तिय व्यवस्था, वित्तीय प्रणली, वित्तिय उपकरणहरु, तिनीहरुको उचित प्रयोग, बचत, लगानी, कर्जा लगायतका वित्त सम्बन्धी सम्पूर्ण विषयको ज्ञान शिक्षा अभियानका संयोजक राजु ढुंगेलले बताए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ पुस २०७८, बिहिबार  १६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।