
तीन वर्षयता कै न्यून पूँजीगत खर्च खर्चिपछि आलोचित भैरहेको वर्तमान सरकार राजश्व संकलन कुल लक्ष्यमा भने अगाडि देखिएको छ ।
चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म सरकारले ४५.९१ प्रतिशत राजश्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.१८ प्रतिशतले बढी हो । पुस मसान्तसम्ममा सरकारले ११ खर्ब ८० अर्ब राजश्व संकलनको लक्ष्य लिएकोमा ५ खर्ब ४२ अर्ब रुपैयाँ राजश्व उठाएको अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघि आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ४१.७३ प्रतिशत र अघिल्लो आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजश्व संकलन कुल लक्ष्यको ३८.९५ प्रतिशत रहेको थियो ।
सरकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ । सोही अवधिको समग्र खर्चमा भने उतार चढाव देखिएको छ । अर्धवार्षिक खर्चतर्फ भने पूँजीगत बाहेक चालु खर्च र वित्तीय व्यवस्थापनमा भएको खर्च पछिल्लो तीन आर्थिक वर्षको अवस्था हाराहारीमा रहेको छ ।
चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म पूँजीगत खर्च १३.४४ प्रतिशत भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.९६ प्रतिशत कम हो । आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्म पूँजीगत खर्च १४.४० प्रतिशत र सोभन्दा अघिल्लो वर्षको सोही अवधिमा १४.८९ प्रतिशत पूँजीगत खर्च भएको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने कार्ययोजना अघि सारेका भएको पनि सो अनुसारको काम हुन नसक्दा अर्थमन्त्रीले अघि सारेको लक्ष्य विफल हुँदै गएको छ । प्रतिस्थापन बजेट ल्याउनुपर्ने आवश्यकता र मध्य असोजपछि मात्र बजेट कार्यान्वयनमा आएको कारणले पूँजीगत खर्च अपेक्षाकृत हुन नसकेको अर्थ मन्त्रालयको जिकिर छ ।
समीक्षा अवधिको चालु र वित्तीय खर्चमा भने केही उतार चढाव देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म चालु खर्च ३८.१३ प्रतिशत र वित्तीय खर्च २६.१२ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा चालु खर्च ३६.०८ प्रतिशत र वित्तीय खर्च १३.०६ भएको थियो । अघिल्लो वर्षको तुलनामा वित्तीय खर्च करिब दोब्बर बढी भएको देखिएको छ भने चालु खर्चमा २.०५ प्रतिशतको सुधार भएको छ ।
आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म चालु खर्च ३२.३५ प्रतिशत भएको थियो भने वित्तीय खर्च २२.४४ रहेको थियो ।
अर्थमन्त्री शर्माले वर्तमान सरकारले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । प्रतिस्थापन बजेट मार्फत चालुतर्फ १० खर्ब तीन अर्ब ७४ करोड ७ लाख, पूँजीगततर्फ ४ खर्ब २९ अर्ब ६५ करोड ९ लाख र वित्तीय व्यवस्थापतर्फ एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेका थिए । बजेट खर्च निराशजनक रहेपनि स्रोत व्यवस्थापनमा भने सरकार सफल नै देखिएको छ । यसबीच सरकारले लक्ष्यको २३.१७ प्रतिशत अनुदान प्राप्त गरेको छ । सरकारले यो वर्ष ५९ अर्ब ९१ करोड अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया