भन्सार कडाइले सुन तस्करी घट्यो, सातामै ७३ सम्म जफत हुने गरेकोमा ९ किलोमा सीमित

0
Shares

नेपालमा वैदेशिक रोजगारीबाट नेपाल फर्किन लागेका र विदेश घुम्न जाने नेपाली नागरिकलाई भरिया बनाई अवैद्य सुनको ओसार पसार हुनु नयाँ होइन । अनुसन्धान अधिकृतहरूबाट हप्तैपिच्छे सुन जफत गरिएको समाचारहरु सुनिएकै हुन् ।

सुन तस्करी हुने ठाउँमा सरकारले आँखा चिम्म गरेपछि तस्करीले आँखा खोल्नु स्वभाविक नै हो । तर पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको सक्रियताले पहिला निकै मौलाइरहेको सुन तस्करी भन्सार कडाइका कारण उल्लेख्य घटेको छ ।

मंसिर दोस्रो सातादेखि भन्सार कार्यालयले अनुसन्धान थाल्दा सातामै ७३ किलोसम्म सुन जफत हुने गरेकोमा हाल सातामा ९ किलो मात्र सुन जफत हुने गरेको तथ्याङ्क छ । सुन तस्करी रोक्न अभियान नै चलाएर कडाइ गर्न लागिएपछि करिब ५० दिनको अवधिमा सुन तस्करहरु ९० प्रतिशतले घटेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । तस्करहरुले ५० ग्रामभित्रका गहना ल्याउँदा भन्सार छुट हुने सुविधालाई दुरुपयोग गर्दै काँचो सुन र बढी परिमाणको सुन भरिया बनाएर नेपाल पठाउने गर्ने गरेका थिए ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार मंसिर १३ गते देखि माघ १ गतेसम्म विमानस्थलबाट १६६ किलो सुन नियन्त्रणमा लिइएको छ । उक्त सुन ३ हजार ७३४ यात्रुबाट बरामद भएको हो । अहिलेको बजार मूल्य अनुसार नियन्त्रणमा लिइएको सुनको बजार मूल्य करिब १ अर्ब ३१ करोड हुन आउँछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार बरामद भएको उक्त परिमाणको सुनबाट १५ करोड ८० लाख रुपैयाँ अतिरिक्त राजस्व संकलन भएको छ ।

भट्टराइ आफ्नो प्राथमिकता राजश्व संकलनमा भन्दा चोरी पैठारी हुने सुन नियन्त्रणमा रहने बताउँछन् । उनले भने,“हाम्रो उद्धेश्य भनेको राजस्व संकलन गर्नु भन्दा बढी आयात निर्यातलाई नियमन गर्नु हो ।”

कार्यालयका प्रमुख भट्टराइका अनुसार अभियान सुरु गरेको पहिलो हप्ता १ हजार ५३० जना यात्रुबाट ७३ किलो सुन बरामद भएको थियो । त्यसपछि क्रमिक रुपमा सुन तस्करहरुको संख्या तथा सुनको परिमाण घट्न थालेको छ ।

दोस्रो हप्ता ५२२ जना यात्रुबाट २१ किलो, तेस्रो हप्ता ४५२ जना यात्रुबाट १९ किलो, चौथो हप्ता ४२८ जनाबाट १८ किलो, पाँचौ हप्ता ४०५ जना यात्रुबाट १६ किलो तथा छैटाैं हप्तामा २१० जनाबाट ९ किलो र साताैं हप्ता १९८ जना यात्रुबाट ९ किलो सुन बरामद गरिएको हो ।

माथिको तथ्याङ्कबाट पनि हरेक हप्ता बरामद हुने सुनको परिमाण र त्यसमा संलग्न व्यक्तिको संख्या घट्नुले पनि भन्सारमा गरिएको कडाइको कारण नै सम्भव भएको बुझ्न कठिन पर्दैन ।

हाल नेपालमा बैंकिङ्ग प्रणाली मार्फत औपचारिक रुपमा दैनिक २० किलो सुन आयात हुने गरेको छ । जुन वाणिज्य बैंकहरुले आलोपालो गरेर ल्याउने गरेका छन् । तर बजारमा दैनिक ३० केजीभन्दा बढी सुनको माग रहेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । औपचारिक माध्यमबाट अपुग हुनेसुनको माग यस्तै तस्करी हुने सुनबाट परिपूर्ति हुने गरेको छ ।

विद्यमान व्यवस्था अनुसार विमानस्थलबाट राजस्व तिरेर कुनै व्यक्तिले १०० ग्राम सम्म शुद्ध सुन तथा २५० ग्राम सम्मका सुनका गरगहना ल्याउन पाइन्छ । ५० ग्राम सम्मका सुनका गरगहनामा भने भन्सार महसुल तिर्नु पर्दैन् । थप २०० ग्रामसम्म भन्सार महसुल तिरेर ल्याउन सकिन्छ । तोकिएको परिमाण भन्दा बढी सुन ल्याए विमानस्थलले कानुन बमोजिम जफत गर्ने गरेको छ ।

भन्सार कार्यालयले अवैध तवरबाट भित्रने सुनमा कडाई गर्न थालेपछि सुन तस्करहरुले गहनाको रुप फेरेर तस्करीको बाटो अपनाउन थालेका छन् । पहिला बाला तथा अन्य गहनाका रुपमा भित्रने गरेको सुन अहिले भने सिक्री बनाएर लगाएर ल्याउन थालिएको भट्टराई बताउँछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार  १७ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।