प्रोफिट बुकिङ्गका कारण सोमबार दोहोरो अंकले घटेको सेयर बजारमा मंगलबार पुनः दोहोरो अंकले नै बढोत्तरी भएको छ ।
आज नेप्से सूचक ०.६७ प्रतिशत अर्थात १९.२९ अंकले बढेर २८९१.३३ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ३.९८ अंकले बढेर ५४२.९० बिन्दुमा पुगेको छ ।
आइतबार १०५ अंकले बढेपछि सोमबार नेप्से १३.४८ अंकले घटेर बन्द भएको थियो । सामान्य करेक्शनपछि मंगलबार बजारले फेरि गति लिएको छ । नेप्से बढेसँगै कारोबार रकम पनि १ अर्ब ४२ करोड रुपैयाँले बढेको छ ।
यसदिन कूल २२३ वटा कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रूपैयाँ बराबरमा खरिदबिक्री भएको छ । हिजो ५अर्ब १५ करोड ४१ लख रुपैयाँको सेयर कारोबार भएको थियो ।
मंगलबार कारोबार भएका कूल १३ उपसमूहगत सूचकमध्ये ९ बढेको छ भने ४ घटेको छ । लगानीकर्ताको आकर्षण सबैभन्दा धेरै हाइड्रोपावर समूहमा परेको छ । सो सूचक ३.२२ प्रतिशतले बढ्दा विकास बैंक १.६१ प्रतिशत, म्युचुअल फण्ड १.५० प्रतिशत, फाइनान्स १.४८ प्रतिशतले बढेको छ । ब्यापार सूचक ०.५३ प्रतिशतले घट्दा होटल, उत्पादन र जीवन बीमाको सूचक पनि सामान्य घटेको छ ।
मंगलबार कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी अग्र स्थानमा आएको छ । कम्पनी ३९ करोड १ लाख ४१ हजार रूपैयाँ बराबरको सेयर कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनी बनेको हो । यस्तै अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३७.१४ करोड, अपि पावर ३५.८ करोड, अपर तामाकोशी ३४ करोड, एचआईडिसीएलको ३० करोड, अरुण काबेली २४ करोड, आइएमई जनरल इन्स्योरेन्स २० करोड, फरवार्ड लघुवित्त १७.६७ करोड, जीवन विकास लघुवित्त १२.७९ करोड र नेपाल लाइफको ९.३४ करोड रुपैयाँको सेयर खरीद बिक्री भएको छ ।

कमजोर वित्तीय अवस्था भएको विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा मंगलबार पनि सकारात्मक सर्किट लागेको छ । चालु आवको पहिलो त्रैमासमा २९ रुपैयाँ ऋणात्मक प्रतिसेयर आम्दानी रहेको लघुवित्तको सेयरमा कारोबारीहरुले मूल्य उचाल्दा सेयरमूल्य १७१८.१० रूपैयाँ पुगेको छ । थोरै पूँजी भएका कारण चलखेल गरी सेयरमूल्यमा तीव्र बढोत्तरी गर्दा लघुवित्तको सेयरमा खरीमा उच्च जोखम बढेको छ ।
यस्तै हालै मात्र दोस्रो बजारमा कारोबारमा आएको बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरको आपूर्ति कम हुँदा सो कम्पनीको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर ६७८ रूपैयाँ पुगेको छ ।
नेशनल हाइड्रोपावर ७.५० प्रतिशत, फरवार्ड लघुवित्त ७.२५, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.९५ प्रतिशत, मैैलुङ्गखोला ५.५२ प्रतिशत, साहस उर्जा ५.४५ प्रतिशत, अरुण भ्याली हाइड्रोपावर ५.४३ प्रतिशत, युनियन हाइड्रोपावर ४.८७ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ४.६४ प्रतिशतले सेयरमूल्य बढेको छ ।
उता नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले आज सबैभन्दा धेरै गुमाएका छन् । लघुवित्तको सेयरमूल्य ३.१७ प्रतिशतले घटेर प्रतिकित्ता १२२० रूपैयाँमा झरेको छ । मेरो माइक्रोफाइनान्स २.२८, सिभिल लघुवित्त २.१२, अजोड इन्सयोरेन्स २.०४, र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य २ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया