त्रिभुवन विमानस्थलबाट मलद्वारभित्र लुकाएर ल्याउँदै गरेको १ किलोग्राम ५५ ग्राम सुन र ५ थान आईफोन १३ प्रो म्याक्स मोबाइल सहित ३ जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट बुधबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा, रौतहट गौरका ३२ वर्षीय सुनिल कुमार साह र मकवानपुर मनहरीका २८ वर्षीय नवराज परियार रहेका छन् ।
बाहिरी मुलुकबाट काठमाडौं आएका उनीहरूको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त अवैध सुन र मोबाईल पक्राउ गरेको हो ।
प्रहरीका अनुसार एयर अरेबियाको उडानद्वारा सारजाहबाट आएका शेर्पालाई मलद्वारभित्र लुकाएको १ किलोग्राम ५५ ग्राम तौल बराबरको ३ थान अर्धठोस सुन, हिमालयन एयरलाइन्सद्वारा दुबईबाट आएका साहलाई ५० ग्राम बराबरको १ थान बेरुवा औँठी तथा १ थान सिक्री र ४ थान आईफोन र दुबईबाटै सोही एयरलाइन्समा आएका नबराज परियारलाई ५० ग्राम बराबरको २ थान बेरुवा औंठी र १ थान आईफोन सहित प्रहरीले फेला पारि पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया