प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच छलफल

0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा स्थानीय तहको निर्वाचन, संसद्को गत्यावरोधको अन्त्य तथा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका विषयमा छलफल भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख ती‍न दलका शीर्ष नेताको बैठकमा माओबादी केन्द्का अध्यक्ष दाहालले चुनावपछि मात्रै एमसिसी अघि बढाउने प्रस्ताव गरेका थिए भने एमालेले एमसिसीबारे पहिला सत्ता पक्षको धारणा आउनुपर्ने अडान राखेको छ ।

छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव शङ्कर पोखरेलले सरकार र प्रतिपक्षीबीच संवादको क्रम सुरु भएको जानकारी दिए । प्रधानमन्त्री देउवाले यसलाई निरन्तरता दिने र नियमित छलफल गर्ने सो अवसरमा प्रतिबद्धता जनाएकाे उनको भनाइ छ ।

सो अवसरमा प्रधानमन्त्रीले एमालेलाई एमसीसी लगायतका विषय अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । बैठकमा माओवादीका अध्यक्ष प्रचण्डले एमसीसीलाई सङ्घीय निर्वाचन पछाडि मात्रै सम्बोधन गर्ने गरी प्रमुख प्रतिपक्षीसहित आग्रह गरौं भन्ने धारणा राखेको महासचिव पोखरेलको भनाइ छ । सो सन्दर्भमा सत्ता पक्षले सरकार र गठबन्धनको तर्फबाट प्रष्ट धारणा राख्न एमालेले आग्रह गरेको थियो ।

प्रधानमन्त्रीले राष्ट्रिय सरोकारका मुद्दामा छलफल हुने वातावरण बनाउन र संसद्को बैठक नियमित कारबाहीमा प्रवेश गर्ने वातावरण बनाउन प्रमुख प्रतिपक्षीलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीको सो आग्रहका सन्दर्भमा एमालले आफूहरू उपस्थित भएर भाग लिने वातावरण बनाउन तयार भएको र त्यसका लागि आफूहरूले कारबाही गरेका १४ सांसदको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले गरेको निर्णयका कारण असजिलो भएको धारणा राखेको थियो ।

“१४ गैरसांसदलाई राखेर संसद्मा राखेर प्रतिनिधिसभा चलाउने भनिएको छ । दलले कारबाही गरेका व्यक्तिलाई राखेर सदन चलाउने कुरा हुन सक्दैन । त्यो निर्णय सच्चिनुपर्छ । यदि नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ”, महासचिव पोखरेलले भने ।

छलफलमा स्थानीय तहको निर्वाचन, कोभिडको खोपको अपचलन र एक विभागीय मन्त्रीले हिंसालाई प्रोत्साहन गरेको र उनीहरुलाई कुनै कारबाही नभएको सन्दर्भमा एमालले सरकारको ध्यानकर्षण गराएको थियो । यस्तै मुलुकमा देखिएको वित्तीय सङ्कटको बारेमा छलफल भएको र सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने एमालेको आग्रह थियो । छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहहादुर कार्कीको सहभागिता थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ माघ २०७८, आइतबार  १९ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।