काठमाण्डौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट ७ करोड वक्यौता रकम असुली गरेको छ ।
गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् ।
तत्काल पाँच करदाताले तिर्नका लागि समय निर्धारण गरेर गएका छन् । “आउने क्रम जारी छ, कोरोनाको कारण लक्ष्यअनुरुप असुल हुन भने सकेन”, कामपा राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने । कामपाले गत साउनको अन्तिम साता दुई चरणमा गरी ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । त्यसपछि करदाता सम्पर्कमा आउने क्रम बढेको छ ।
धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन् । तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रूपमा नै कर सङ्कलन गरिरहेको हो ।
सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानुनी कारबाही अगाडि बढाउने तयारी गरेको छ ।
डा अधिकारी भन्छन्, “सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौं ।”
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया