बलेफी हाईड्रोपावरको आईपीओ खुल्यो, कसले भर्न पाउँछ ?

0
Shares

बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

माघ २७ गते बिहीबारदेखि निष्काशन तथा बिक्री खुला भएको उक्त आईपीओमा सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कुल सेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं, २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी रहेको ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं, ५ र ७, बलेफी गाउँपालिकाको वडा नं, १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं, ७ का बासिन्दाहरुका लागि जारी हुनेछ ।

आईपीओ छिटोमा फागुन १२ गते निष्काशन बन्द हुनेछ भने उक्त मितिसम्म सबै सेयर खरीदका लागि स्थानीयबाट आवेदन नपरेको खण्डमा ढिलोमा फागुन २७ गते खुला रहनेछ ।

स्थानीयबासीले कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि परिचयपत्र सहित स्थानीयले आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

सेयर खरीका लागि स्थानीयले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग’ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्था दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

कस्तो छ कम्पनी ?

वाग्मती प्रदेश, सिन्धुपाल्चोक जिल्लाको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरेकाे हाे । 

यस कम्पनीको कुल लागत जम्मा ६ अर्ब ७८ करोड रहेको (७०ः३०–कर्जा :पूँजी अनुपात) र प्रति मेगावाट १६ करोड ९० लाख रहेको छ । जुन औषतमा अन्य हाइड्रोपावर कम्पनीको लागत भन्दा कम रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२८ वर्ष र आयोजनाको डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि १६.५९ वर्ष रहेको छ । निर्माण कार्य सम्पन्न गरी आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा जडान गरीबिक्री गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

इक्रा नेपालले यस कम्पनीले जारी गर्न लागेको आइपीओलाई ग्रेड फोर प्लस प्रदान गरेको छ । कम्पनीको औषत वार्षिक विद्युत उत्पादन राम्रो रहेको तथा आयोजनाको लागत कम रहेकोले सञ्चालनमा आएको पहिलाे वर्षमा नै लाभांश वितरण गर्न सक्ने क्षमता रहेको छ ।

हाइड्रोपावर क्षेत्रको एउटा राम्रो कम्पनीले बजारमा शेयर निष्काशनगर्दा पूँजीबजार तथा लगानीकर्ताहरुलाई फलदायीहुने कम्पनी तथा प्रत्याभूतिकर्ताले जानकारी गराएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७८, बिहिबार  ०९ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।