नेप्सेमा सूचीकृत २२५ कम्पनीमध्ये १४३ बैंक तथा वित्तीय संस्था

0
Shares

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ पुससम्ममा सूचीकृत कम्पनीहरूको संख्या २२५ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यो कुल संख्याको ६३.५६ प्रतिशत हो ।

यसैगरी २०७८ पुसमा नेप्सेमा सूचीकृत कम्पनीमध्ये ४६ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ५ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । एक वर्षअघि २०७७ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको थियो । एक वर्षमा दश सूचीकृत कम्पनी थपिएका हुन् ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँंजीकरणको हिस्सा ६७.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा १०.६ प्रतिशत, लगानी कम्पनीको ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.४ प्रतिशत, होटेलको हिस्सा १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीरुको हिस्सा ८.९ प्रतिशत रहेको छ ।

विसं २०७८ पुस मसान्तमा धितोपत्र बजार पूुजीकरण ४० खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । विसं २०७७ पुस मसान्तमा बजार पूँजीकरण ३० खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो । विसं २०७७ पुस मसान्तमा २२८६.६ रहेको नेप्से सूचकाङ्क २०७८ पुस मसान्तमा २८५७.८ पुगेको छ ।

सूचीकृत कम्पनीको चुक्ता मूल्य ६ खर्ब ४४ अर्ब

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७८ पुससम्ममा सूचीकृत २२५ कम्पनीहरुको कुल चुक्ता मूल्य ६ खर्ब ४४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । जुन प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरका हिसाबले ६ अर्ब ५४ करोड कित्ता सेयर रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनासम्ममा १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको साधारण सेयर सूचीकृत भएका छन् । यस अवधिमा ४६ अर्ब १६ करोड रुपैयाँ बराबरको डिबेन्चर, ८ अर्ब ९३ करोड बराबरको हकप्रद सेयर, ८ अर्ब १ करोड बराबरको बोनस सेयर र ३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल ८२ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १ अर्ब ५७ करोड बराबरको साधारण सेयर निष्काशनका लागि अनुमति दिएको छ । यस्तै यस अवधिमा ३ अर्ब ८० करोड बराबरको डिबेन्चर, ३ अर्ब बराबरको म्युचुअल फण्ड, र १ अर्ब ४ करोड बराबरको हकप्रद सेयर गरी कुल ९ अर्ब ४१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ माघ २०७८, बिहिबार  १३ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।