सहकारी संस्थाका संस्थापक अध्यक्ष ८० लाख रकम लिएर बेपत्ता

0
Shares

झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ ।

दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारी सहित विभिन्न सात व्यक्तिको ८० लाख बढी ऋण रकम लिएर फरार भएको खुलासा बाहिरिएको हो ।

उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् ।

अध्यक्ष खनालले संस्थाको बचत रकम सहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएपछि उनी सम्पर्क विहीन भएको व्यवस्थापक तामाङसहित कर्मचारी तथा बचकर्ताको एक समूहले सोबारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा गत पुस २९ गते नै लिखितरूपमा जानकारी गराएका थिए ।

अध्यक्ष बेपत्ता भएपछि दमक–७ मा रहेको सहकारीको कार्यालय गत मङ्सिर २९ गतेदेखि नै बन्द भएको छ । पीडितले दिएको निवेदनमा उल्लेख गरिएअनुसार सहकारीको २५ लाख ७० हजार १३३ सहित दमक–८ का ज्ञानेन्द्र श्रेष्ठको २१ लख, दमक–५ का राजु गौतमको चार लाख, दमक–९ का टेकबहादुर योञ्जनको आठ लाख, दमक–९ का रामकुमारी श्रेष्ठको १२ लाख, दमक–६ का डिल्लीराम प्रसाईँको दुई लाख, कमल गाउँपालिका–४ का गौरी राईको दुई लाख र कमल–४ कै दुरेन्द्रबहादुर नेम्वाङको ६ लाख सापटी रकम लिएर खनाल फरार भएका हुन् ।

सहकारीको ठगी विषयमा उजुरी गरिए पनि अहिलेसम्म नगरपालिका र स्थानीय प्रशासनले सो विषयमा पहलकदमी नचालेको भन्दै पीडितहरूको समूहले एकाएक घटना बाहिर ल्याउनुपरेको पीडित कमल–४ का दुरेन्द्र नेम्वाङले बताए । सामाजिक सञ्जाल मार्फत पीडितले न्यायका लागि सहयोग पु¥याइदिन अपिल गरेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ माघ २०७८, शनिबार  १९ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।