नेपाल टेलिकमको खुद नाफा ३ अर्ब ८९ करोड, १८.४९ प्रतिशतले बढ्याे

0
Shares

नेपाल टेलिकम कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार खुद नाफा आर्जन गरेको छ ।

गत आवको दोस्रो त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्म कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) मा १८.४९ प्रतिशत अर्थात ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले खुद मुनाफा वृद्धि भएको हो ।

गत आवको दोस्रो त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा १९ अर्ब २० करोड ७२ लाख १६ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ८.३६ प्रतिशत अर्थात १ अर्ब ४८ करोड २३ लाख ३ हजार रुपैयाँ धेरै हो ।

गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको कुल आय रु. २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा कुल आय रु. १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार (अर्थात, ६.८७ प्रतिशत) ले वृद्धि भई रु. २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रहेको छ ।

पुस मसान्तसम्म कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासिक अवधि (२०७७ पुस मसान्त) मा मात्र कम्पनीको कुल सञ्चालन आय ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेकोमा चालु आवको सोही अवधि (२०७८ पुस मसान्त) को मात्र कुल सञ्चालन आय ३४ करोड २३ लाख ४९ हजार रुपैयाँ अर्थात ३.७७ प्रतिशतले वृद्धि भएको हो ।

गत आवका दोस्रो त्रैमास अवधि (२०७७ पुस मसान्त) मा ब्याज, कर र ह्रासकट्टी अघिको नाफा (इबिआईटिडिए) ८ अर्ब ६१ करोड ३ लाख १७ हजार रहेकोमा ७७ करोड ५८ लाख ७३ हजार रुपैयाँ अर्थात ९.०१ प्रतिशतले वृद्धि भएको छ । चालु आवको सोही अवधिमा इबिआईटिडिए ९ अर्ब ३८ करोड ६१ लाख ९० हजार रहेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ५१.७४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६२३.८९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६.७६ गुणा र कुल सम्पत्तिको मूल्य १०३२.३५ रुपैयाँ रहेको छ ।

कम्पनीको प्रगतिकाे पछाडि यस्तो कारण

नेपाल टेलिकम कम्पनी लिमिटेडको आर्थिक स्वास्थ्य सकारात्मक हुनुमा विभिन्न कारणहरु देखिएको छ । गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा चालु आवको यसै त्रैमासिक अवधिमा अधिकांश सूचांक सकारात्मक हुनेमा प्रमुख कारणहरु निम्नानुसार रहेको छः–

फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको छ । यसले कम्पनीको नाफा वृद्धिमा टेवा पुगेको हो ।

यसैगरी टूजी/थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत टूजी/थ्रीजी/फोरजी सेवाको पहुँच विस्तार गरिएको कारणले ग्राहक आधार वृद्धि हुन गएको छ । कम्पनीको एफटिटिएच सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटिटिएच मार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटिभी सेवाका ग्राहकहरु वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेका कारण पनि नाफा बढेको हो ।

कोभिड महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आवको शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएका कारण पनि आर्थिक अवस्था मजबुच बनेको कम्पनीले जनाएको छ ।

कोभिडको महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको कम्पनीले जनाएको छ ।

कोभिड महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभई सकेको वास्तविकता तथा OTT को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाईन व्यवसाय, अनलाईन कक्षा, सोसियल नेटवर्किङ्ग, इनटरनेट बेस्ड इन्टरटेन्डमेन्ट आदिमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डेटा सेवा, एसएमएस सेवा र भ्यालु एडेड सर्भिस सेवामा गत आ. व. को दोस्रो त्रैमासिक अवधि (२०७७ पुस मसान्त) को तुलनामा चालु आवको सोही अवधिमा सुधार आएकोले पनिको अवस्थामा उत्साहप्रद सुधार भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।