कुखुराको मासुको मूल्य प्रतिकेजी १० रुपैयाँले बढ्यो

0
Shares

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शनिबारदेखि कुखुराको मासुुको मूल्य बढाएको छ । बजारमा कुखुराको अभावको कारण देखाउँदै संघले कुखुराको मासुको मूल्य प्रतिकिलो १० रुपैयाँले बढाएको हो ।

हाल नेपालमा शनिबार देखि लागू हुने गरी मासुको उपभोक्ता मूल्य प्रतिकेजी ३६० रुपैयाँ कायम गरिएको छ । यसअघि बोइलर कुखुराको उपभोक्ता मूल्य ३५० रुपैयाँ रहेको थियो ।

नेपालमा कुखुराको मासु, अण्डा र चल्लाको व्यावसायिक उत्पादन भए पनि यसको मूल्यले बजार व्यवस्थापनमा स्थायित्व प्राप्त गर्न सकेको छैन । नेपालमा कुखुराको उत्पादन, बजारको माग, दानाको महँगी र मौसम आदी कारणहरुले बोइलर कुखुराको मासुको भाउमा परिवर्तन हुने गरेको छ ।

कुखुराको मासु तथा अण्डामा देश आत्मनिर्भर रहेको भनिएतापनि यस व्यवसायमा हुने अस्थीर मूल्य निर्धारणले नै स्थायित्वमा समस्या देखिएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जङ्गबहादुर विसी होल्ड गर्ने ठाउँ नभएका कारण उत्पादन बढी भए मूल्य घट्ने र कम उत्पादन हुँदा मूल्य बढ्ने गरेकाले मूल्य स्थीर नहुने बताउँछन् ।

“फागुनमा आउने कुखुराहरुको भाउ चिसोका काराण तराई र पहाडका जिल्लाहरुबाटै उत्पादन कम भएर मूल्य बढेर आउँछ” जंगबहादुरले भने, “खरीद मूल्य नै वृद्धि भएर आएपछि सस्तोमा बिक्री गर्न गाह्रो छ ।”

उनका अनुसार व्यवसायीले किसानसँग किन्ने दर प्रतिकेजी २६० रुपैयाँ रहेको छ । यस अघि २५० रुपैयाँमा कारोबार भएको भाउमा प्रतिकेजी दश रुपैयाँले वृृद्धि भएको हो ।

नेपालमा हाल कुखुराको मासु तथा अण्डामा आत्मानिर्भर बनिसकेको छ । नेपालमा दैनिक ८ लाख किलो कुखुराको मासुको खपत हुन्छ । जसमा ५ लाख किलो मासु उपत्यकामा नै खपत हुने गरेको अध्यक्ष जंगबहादुरले बताए ।

केही समय अघि बोइलर कुखुरा उत्पादनको केन्द्रको रुपमा चितवनलाई चिनिने गरिन्थ्यो । तर अन्य जिल्लाहरुमा पनि उतिकै मात्रामा उत्पादन बढ्न थालेको छ । अहिले नुवाकोट, धादिङ र तराइका केही जिल्लाहरुमा उत्पादन बढ्न थालेको संघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७८, आइतबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।