सेयर बजार सूचक मापक नेप्से यस साता २.६० प्रतिशत अर्थात ७१.०७ अंक घटेर २६६१.४४ बिन्दुमा झरेको छ । गत साता नेप्से २७३२.५१ बिन्दुमा बन्द भएका थियो ।
यो साता दैनिक औषतमा ३ अर्ब ५४ करोडको सेयर कारोबार हुँदै सातामा १७ अर्ब ७२ करोड रुपैयाँको सेयर खरीद बिक्री भएको छ । गत साता १८ अर्ब १९ करोडको कारोबार भएको थियो । गत साता ३ करोड ५२ लाख कित्ता सेयर कारोबार भएकोमा यो साता ३ करोड २९ लाख कित्ता सेयर कारोबार भएको छ ।
नेप्सेको कुल बजार पूँजीकरण यस साता १ खर्ब बढीले घटेर ३७ खर्ब ६९ अर्ब रुपैयाँमा झरेको छ । गत साता ३८ खर्ब ७० अर्ब रुपैयाँ रहेको थियो।
कारोबारमा आएकामध्ये १३ उपसमूहमध्ये जलविद्युत बाहेक सबै १२ उपसमूहको परिसूचक घटेको छ । जलविद्युत ०.४० प्रतिशत बढेको छ भने जीवन बीमा सर्वाधिक ५.६९ प्रतिशत घटेको छ । व्यापार र उत्पादन ४ तथा निर्जीवन बीमा, लगानी, लघुवित्त, र विकास बैंक सूचक ३ प्रतिशत बढी घटेको छ ।
यो साता युनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य सर्वाधिक ४६.३८ प्रतिशत बढेर १०१० रुपैयाँ पुगेको छ । तेहथुम पावरकाे ३१.३६, सामलिङ पावरको २४.९८, मैलुङखोला जलविद्युत १७.५० र दिब्यश्वरी हाइड्राेपावरको सेयरमूल्य १६ प्रतिशतले बढेको छ ।
उता सातामा ग्रामीण विकास लघुवित्तको सेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयरमूल्य १०.५५ प्रतिशत घटेर ८९० रुपैयाँमा झरेको छ । यस्तै आईएमई जनरल इन्स्योरेन्स ८.१३, विन नेपाल लघुवित्त ७.९३, गुराँस लाइफ ७.६१ र युनाइटेड इन्स्योरेन्सको ७.३० प्रतिशतले घटेको छ ।
यो साता ६ वाणिज्य बैंकहरु सहित १२ कम्पनीको ८ करोड ६२ लाख ३९ हजार ४६ दशमलव ६० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । ग्लोबल आइएमई, सनराइज, लक्ष्मी, नेपाल बंगलादेश बैंक, प्रभु, नेपाल बैंकको बोनस सूचीकृत भएको हो । यस्तै गुराँस लाइफ, गुडविल फाइनान्स, फस्ट माइक्रो, बुटवल पावर, मितेरी डेभलपमेन्ट बैंक र गुहेश्वरी मर्चेन्ट फाइनान्सको बोनस सूचीकृत भएको हो ।
कारोबार रकमका आधारमा यो साता जीवन विकास लघुवित्तको ११ करोड ६३ लाखको कारोबार भएको छ । यस्तै नेपाल टेलिकम ११ करोड १७ लाख, नेशनल हाइडोपावर ६ करोड ४९ लाख, अरुण भ्याली हाइड्राेपावर ६ करोड ५ लाख र अपि पावरको ५ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया